२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हाम्रा - गाउँघर 

पोखरा महानगर  : पोखराबारे जानकारी दिन -  ‘पोखरा घर’ निर्माण गरिँदै 

सोमवार , फाल्गुण २८, २०८०

कास्की, फागुन । पोखरामा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय, घण्टाघर र एकीकृत पर्यटन सूचना केन्द्रसहितको ‘पोखरा घर’ निर्माण सुरु भएको छ । पोखरा महानगरपालिकाले महानगरको सातौँ स्थापना दिवस अवसर पारेर आइतबार पोखरा घरको शिलान्यास गरिएको हो । 

पोखरा–९ पृथ्वीचोकमा निर्माण हुने घरको महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरका छन । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्ने विश्वास लिइएको छ । घर पाँच तलाको निर्माण हुने भएको छ ।

यसको लागत रु पाँच करोड एक लाख ४६ हजार ५५१ रहेको महानगरका पूर्वाधार विकास महाशाखाका प्रमुख इन्जिनियर सुरेन्द्र पाण्डेले जानकारी दिएका छन । उनका अनुसार घरको निर्माण आगामी डेढ वर्षभित्रमा सम्पन्न गर्ने सम्झौता गरिएको छ ।

भवनको भुइँतलामा पार्किङ, पहिलो तलामा कोसेली घर र सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय र मिटिङ हल, तेस्रो तलामा आर्ट ग्यालरी तथा सोभन्दा माथि घण्टा घर रहने इन्जिनियर पाण्डेले बताए ।  

कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरा घरले समग्र पोखराको विस्तृत जानकारी दिने केन्द्र बन्ने बताए । 

उनका अनुसार पोखराका आउनेका लागि यो घर एउटा महत्वपूर्णस्थल बन्नेछ । “पोखरा घर परम्परागत वास्तुकला र पछिल्लो प्रविधिको प्रयोग गरेर काठको बार्दलीसमेतको मौलिक बन्ने छ । 

यसको सञ्चालनका लागि विगतमा महेन्द्रपुलमा भत्काइएको जीर्ण भवनमा रहेका संस्थासँगनै सहकार्य गर्नेछौँ”, महानगर प्रमुख आचार्यले  बताए ।  

पोखराको महेन्द्रपुलमा यसअघि रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय रहेको भवन जीर्ण भएपछि महानगरले भत्काएको थियो । सो स्थानमा अहिले अन्तर्राष्ट्रिय झण्डा पार्क र सार्वजनिक शौचालय निर्माण गरिएको छ । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले भवन निर्माणका लागि स्रोतको कमी हुन नदिइने प्रतिबद्धता जनाएका छन ।  उनले पोखराको विकासको समग्र विकासको खाका तयार भइरहेको उल्लेख गरे ।  

उनले भने, “महानगरका प्रमुखको नेतृत्वमा पोखरामा उल्लेख्य विकास निर्माणका काम भइरहेको र त्यसको रिजल्ट क्रमशः देख्न पाइन्छ ।  पोखरामा धेरै काम भएका छन् र समग्र विकासको खाका बनेको छ ।” 

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले लामो समयको प्रतीक्षापछि पोखरा घरको शिलान्यास गरिएको बताउँदै दीर्घकालीन विकासको सोचअनुरूप विकास निर्माणको काम अगाडि बढेको बताए । 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार