२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

कर्णाली प्रदेश :  सरकारले रासायनिक विषादी मुक्त सप्ताह गर्यो

शनिवार , फाल्गुण २६, २०८०

 

भेरीगङ्गा (सुर्खेत) , फागुन । कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह आरम्भ गरेको छ । विषादीको प्रयोग बढ्दै गएको भन्दै त्यसलाई घटाउन एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह सुरु गरेको हो । 

सप्ताहको सुरुआत गर्दै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले वातावरणलाई स्वच्छ राख्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकार योजना बनाएर कार्यान्वयन गर्न अग्रसर भएको बताए ।  

पछिल्लो समय मुटु र मिर्गौलाका रोगी बढ्दै गएका र यसको प्रमुख कारण रासायनिक विषादीको प्रयोग भएको मन्त्री शर्माको भनाइ थियो । 

मन्त्री शर्माले कर्णालीलाई रासायनिक विषादीको प्रयोगबाट मुक्त बनाउन गाउँगाउँसम्म सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।  

मन्त्रालयका सचिव डा नरहरिप्रसाद घिमिरेले रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै यसको निराकरण गर्न कर्णालीबाट सुरुआत गरिएको बताए ।  उनले विषादीको सट्टा अन्य विकल्प खोज्नुपर्नेमा जोड दिए ।  

खाद्य वस्तुको बढ्दो माग आपूर्ति गर्न उत्पादन वृद्धिका नाममा विषादीको प्रयोग बढेको भन्दै उनले यसलाई न्यूनीकरण गर्न आवश्यक भएको बताए ।  

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जनचेतनामूलक प्रसारप्रसार कार्यक्रम, जैविक विषादी र पासोजन्य सामग्रीको प्रदर्शन तथा वितरण, विषादीसम्बन्धी विद्यालयमा विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार