२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

 सरकार फेरबदल  :  "  अब धेरै अस्थिर नहोऔं "

मंगलवार , फाल्गुण २२, २०८०

" त बर्षको पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बने । त्यसको तीन महिना नबित्दै एमालेलाई बहिर्गमन गरी कांग्रेससँग हात मिलाए । फेरि वर्ष दिन पुग्यो कांग्रेसको साथ छाडे र एमालेलाई सत्तासीन गराए । "  

यो फेरबदल समयको आवश्यकता भए पनि यथार्थमा यो चरम अस्थिरताको उदाहरण हो । यस्ता घटना अब दोहोरिइरहनु हुँदैन । नेपालमा पटक–पटक विभिन्न राजनीतिक उथलपुथल र जनआन्दोलनहरू भए । सशस्त्र युद्धदेखि सडक आन्दोलसम्मका अन्तर्य निम्नवर्गको हित, सुशासन, दिगो विकास र राजनीतिक स्थिरता थिए । त्यही प्रयोजनार्थ हामीले संविधानसभाको जम्बो टोलीलाई दुई कार्यकाल उपयोग गरेर संविधान बनायौं । 

त्यसले पनि स्थिरता दिन सकेन । हामीले जुन निर्वाचन प्रणाली अपनायौं, त्यसका कारण सदा राजनीति विकृत खेलको सिकार हुने ठाउँमा पुगेको छ । जनप्रतिनिधिको काम सरकार बनाउने, ढाल्ने, सत्ताको पालो ढुक्ने र अर्काको खुट्टा तान्नेमा केन्द्रित भयो । त्यसैको परिणाम कति सजिलै अघिल्लो पाला प्रधानमन्त्री दाहालले ओलीलाई चटक्क छाडे, यसपालि देउवालाई । 

यसले संघीय शासनमा मात्र होइन, प्रदेशमा पनि हलचल ल्याएको छ । प्रदेशका सबै सरकार पुनः डगमगाएका छन् । हाम्रो निर्वाचन प्रणालीमा स्थानीय तहमात्र मजबुत देखिएको छ, जसको मुख्य कारण नै प्रत्यक्ष निर्वाचित कार्यकारी हुनु हो । कम्तीमा पनि पूरा कार्यकाल स्थानीय तहका प्रमुख÷उपप्रमुख अवश्य टिक्छन्, महाभियोग लागेर पास नभएमा । 

संघ र प्रदेशमा बहुमतीय प्रणालीको जुन अल्झो राखिएको छ, त्यसले हाम्रो लोकतन्त्रलाई बलियोभन्दा कमजोर बनाएको छ । अतः संविधान संशोधनमार्फत निर्वाचन प्रणालीमा पनि राजनीतिक दलहरूले विचार गर्नुपर्ने वाञ्छनीय छ । 

हुन पनि एक वर्षमै तीन पटक सत्ता गठबन्धनमा हेराफेरी भएको छ । कहिले कसैको पालो त कहिले कसैको पालो गरी सत्ताको रसस्वादनका लागि जे पनि जोसँग पनि र जस्तो पनि सम्बन्ध गाँस्ने र तोड्ने खेलमा दलहरू लागेका लाग्यै छन् । खासमा नागरिकहरूमा चरम निराशा छ र अर्थतन्त्र शिथिल छ, व्यावसायिक क्षेत्र ओइलाएको छ । 

अर्थतन्त्र तंग्र्याउनुपर्ने मूल दायित्व भुलेर सत्ता टिकाउने र केवल सत्ता र सत्ताको खेलमा दलहरू रमाएका छन् । त्यसको फलस्वरूप नै हो, देशबाट युवाहरू दिनदिनै पलायन भएका छन् । यो देशमा केही हुँदैन भन्ने भाष्य निर्माता खासमा दलहरू र तिनका गतिविधि नै हुन् ।

 त्यतापट्टि ख्याल नगरी फगत राजनीतिलाई साँच्चिकै फोहोरी खेल प्रमाणितै गर्ने कर्म दलहरूबाट भयो । त्यो क्रम रोकिनुपर्छ । र, त्यसको पहिलो कदम अबको गठबन्धनको स्थिरताबाट देखाउन सक्नुपर्छ ।    

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार