ढोरपाटन (बागलुङ), फागुन । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको बताउनुभएको छ ।
बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जारी अनन्तश्री ब्राह्माण्डीय महायज्ञको पाँचौँ दिनको कार्यक्रममा आज उहाँले सम्बोधन गर्दै मुक्तिनाथ, कालीगण्डकी, देवघाट, त्रिवेणीधाम, दामोदरकण्ड जस्ता प्रसिद्ध धार्मिकस्थलहरु रहेका र पछिल्लो समय पञ्चकोट पनि एक धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अझै पनि यहाँ कैयौँ सुप्रसिद्ध धार्मिक तथा सांस्कृतिक गन्तव्य छन्, तिनको आवश्यक प्रचारप्रसार गरी धार्मिक एवं सांस्कृतिक पर्यटनको विकास गर्नुपर्छ ।”
उहाँले धार्मिक तथा पर्यटकीय हिसाबले यस प्रदेशमा धेरै सम्भावना रहेकाले धार्मिक पर्यटनमार्फत समृद्ध हासिल गर्न सकिने बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई पर्यटकीय केन्द्र बनाउनका लागि निरन्तर काम भइरहेको भन्दै अब धार्मिकस्थलसँग पर्यटकलाई जोड्न त्रिवेणीधामदेखि मुक्तिनाथसम्मका विभिन्न स्थानमा धार्मिक संरचना निर्माण गर्ने बताउनुभयो ।
सो अवसरमा पञ्चकोटधामका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले मुख्यमन्त्री एवम् मन्त्रीहरुलाई स्वागत गर्नुभएको थियो ।
स्वामी कमलनयनाचार्यले मुख्यमन्त्रीमार्फत गण्डकी प्रदेश सरकार समक्ष पञ्चकोटमा निर्माणाधीन धार्मिक संरचनाहरुको पूर्णताका लागि सहयोगको अपेक्षा गरिएको बताउनुभएको थियो ।
त्यसपछि मुख्यमन्त्री पाण्डेले पञ्चकोटको विकासका लागि प्रदेश सरकारले निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
यही फागुन ९ गतेदेखि सुरु भएको अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा हरेक दिन विभिन्न विषयका सम्मेलनहरु भइरहेका छन् । यस अन्तर्गत आज पञ्चकोटमा प्रादेशिक राजनीति र सुशासन सम्मेलन आयोजना गरिएको थियो ।
त्यस सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सुशासनलाई पहिलो प्राथमिकता राखेको बताउनुभएको हो ।
जनतालाई सुशासनको अनुभूति दिलाइ सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकार लागिपरेको समेत उल्लेख गर्नुभयो ।
त्यसअवसरमा प्रदेश सरकार मन्त्रीहरु दीपेन्द्र थापा, सुशीला सिम्खडा र सरस्वती अर्याल तिवारीलगायतको सहभागिता थियो ।
महायज्ञमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका तर्फबाट मुख्यमन्त्री पाण्डेले रु दुई लाख ७५ हजार ५५५ सहयोग गर्ने घोषणा गर्नुभयो । रासस