२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'स्वतन्त्र पत्रकारिताको मर्मविपरीत विधेयक आउँदैन ': मुख्यमन्त्री पाण्डे

शुक्रवार , माघ १२, २०८०


गण्डकी, माघ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र पत्रकारिताको मर्मविपरीत प्रदेश आमसञ्चार विधेयक नल्याइने प्रष्ट पार्नुभएको छ । 

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित पुरस्कार अर्पण समारोहमा उहाँले पत्रकारिता जगत्बाट प्राप्त सुझावकै आधारमा सो विधेयक बन्ने बताउनुभयो ।  

“तपाईँहरू ढुक्क हुनुहोस्, प्रदेश सरकारले स्वतन्त्र पत्रकारिताको उद्देश्य र मर्मविरुद्ध हुनेगरी कानुन ल्याउँदैन, यहाँहरूले दिएको सुझावमा सामान्य यताउता होला, तर विधेयकको मूल सारमा कुनै परिवर्तन हुँदैन”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “विषयगत समितिमा छलफल टुङ्गिएपछि आमसञ्चार विधेयकको अन्तिम प्रतिवेदन तयारीको काम भइरहको छ, प्रदेशसभाको आगामी हिउँदे अधिवेशनबाट पारित हुन्छ ।”

उहाँले सूचना प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रले आफ्नो विश्वसनीयता कायम राख्नुपर्ने चुनौती बढेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकास र पत्रकारको पेसागत सुरक्षाका लागि योजना बनाएर काम थालेको बताउनुभयो । 

पत्रकारको वृत्तिविकास, लोककल्याणकारी विज्ञापनलगायतका क्षेत्रमा प्रदेश सरकारले लगानी वृद्धि गरेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार