‘
मोरङ, पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज यहाँ आयोजित प्रदेश सरकार, पर्यटन व्यवसायी र सरोकारवालाहरू बीच गरिएको नीति अन्तरक्रिया उहाँले सरकारले आवश्यक बजेट विनियोजन गरी पर्यटकीय क्षेत्रको विकास थालनी गरेको जानकारी दिनुभयो ।
पर्यटकहरुको आवागमन वृद्धि गर्न सरकारले व्यवसायीबीच साझा अवधारण कायम गर्ने विश्वास दिलाउँदै मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धनका लागि व्यवसायीहरुको सुझावअनुसार ऐनमा संशोधन गर्ने बताउनुभयो ।
उहाँले पर्यटन व्यवसायी समेत सरकारको दूत रहेकाले संयुक्तरुपमा भारतको विहार, बङ्गालका यस क्षेत्रको पर्यटकीय स्थानका बारेमा प्रचारप्रसार गर्नुपर्ने सुझाव दिनुभयो ।
पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीको सुझाव अनुसार विस्तृत गुरुयोजना बनाउने जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव विकास घिमिरेले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि सरोकारवालासँग निरन्तर छलफल चलाउने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका पर्यटन संयोजक भविष श्रेष्ठ, होटल व्यवसायी सङ्घ प्रदेश अध्यक्ष राजन श्रेष्ठ, पर्यटन व्यवसायी पुण्य भट्टराईलगायतले भारतीय पर्यटकलाई सहज आवागमन व्यवस्था एवं राति होटल सञ्चालनका लागि निश्चित समय तोक्नुपर्ने सुझाव दिनुभयो ।