२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जाजरकोट भूकम्प (अपडेट ) 

लाभग्राही भूकम्प पीडित ६७ हजार नाघे  : "  अहिलेसम्म ११ हजार घर निर्माण "

अस्थायी आवासका लागि रू दुईअर्ब २६ करोड  विनियोजन

मंगलवार , पौष १०, २०८०

 

काठमाडौँ पुस । जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार ३३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार  अन्य १० हजार  ११८ घर निर्माणाधीन छन् ।

अहिले धमाधन अस्थायी आवासका लागि अनुदान बापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिएका छन ।  

उनका अनुसार जाजरकोटमा पाँच हजार २०२ , रुकुम पश्चिममा पाँच हजार ७९८, सल्यानमा १९३, बझाङमा १३ र बाजुरामा १३० घर निर्माण सम्पन्न भइसकेका छन् ।

पोखरेलले आजसम्म केन्द्रबाट अस्थायी आवासका लागि रू दुई अर्ब २६ करोड रकम जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइसकिएको जानकारी दिए ।  

त्यसमध्ये रू एकअर्ब ५३ करोड जिल्लाबाट स्थानीय तहमा पुगिसकेको छ । स्थानीय तहबाट प्रक्रिया पुगेका लाभग्राहीको खातामा भने रू ५८ करोड ७८ लाख रकम पठाइसकिएको उनले बताए ।

अहिलेसम्म जाजरकोटमा ३५ हजार १४०, रुकुमपश्चिममा २३ हजार ६०८, सल्यानमा एक हजार ७३०, बझाङमा चार हजार ५७६ र बाजुरामा दुई हजार ७२९ गरी कुल ६७ हजार ७८३ लाभग्राही कायम भएका छन् ।

अझै झण्डै ५० हजार लाभग्राहीसँग अनुदान सम्झौता हुन बाँकी रहेकाले त्यो काम जारी रहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताए । 

उनका अनुसार सुरुमा अस्थायी आवासका लागि सेवा लिने लाभग्राहीको सङ्ख्या गति कम भए पनि अहिले भने बढिरहेको छ । 

लाभग्राहीको पहिचान हुँदै गएकाले सङ्ख्या थपिँने क्रम बढेको भन्दै लाभग्राहीको सङ्ख्या ८० हजार पुग्ने अनुमान गरी सोही अनुसार तयारी भइरहेको पाण्डेले जानकारी दिए ।  

उनका अनुसार ८० हजार लाभग्राही हुँदा उनीहरूको अस्थायी आवासका लागि रू चार अर्ब ७५ करोड लाग्ने भएकाले सोही अनुसार बजेट व्यवस्थापनको तयारीमा प्राधिकरण लागेको छ । त्यसमध्ये रू दुई अर्ब २६ करोड रकम पठाइसकिए पनि बाँकी रकमको जोहो गर्नुपर्ने उनको भनाइ थियो ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ, बाजुरामा क्षति पुर्‍याएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार