काठमाडौँ, असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सांसदहरूको मध्यावधि रोक्ने कदमका कारण आफू मुख्यमन्त्री बनेको बताएका छन् ।
उनले कोशीमा नयाँ गठबन्धन वा दलीय गठजोड नभएर सांसदहरूको मध्यावधि रोक्न सांसदहरूले चालेको सामुहिक कदम भएको दाबी गरे ।
मुख्यमन्त्रीमा नियुक्त भइसकेपछि सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री कार्कीले अब कोशी प्रदेशमा तत्काल मध्यावधि टरेको र स्थिर सरकार बन्ने बताए ।
यो संविधानको धारा १६८ (५) बमोजिमको सरकार हो । यसमा पार्टीहरूको भूमिका हुँदैन, यो सांसदहरूले विवेक प्रयोग गर्न पाउने धारा हो ।
र अहिलेको यो परिणाम सांसदहरूको सामूहिक एकताले मध्यावधि रोक्न चालेको कदमको फल हो,’ कार्कीले भने, ‘अब संविधानले देखाएको बाटोअनुसार अघि बढ्छु ।’
उनले प्रदेशमा कांग्रेस र माओवादी केन्द्रसहितको गबठन्धनकै मात्रै संख्याले सरकार बन्ने अवस्था नभएपछि आफूहरूले विकल्प खोजेको बताए ।
‘गठबन्धनको मात्रै संसद्को संख्याले सरकार चल्ने अवस्था थिएन, त्यसरी त प्रदेश मध्यावधिमा जानेवाला थियो । त्यसकारण यो दलहरूको गठबन्धन होइन, यो सांसदहरूको एकताको परिणाम हो ।
सांसदहरूले मध्यावधि रोक्नका लागि चालिएको कदम हो । यो मैले मात्रै होइन, यो सांसदहरूको सामूहिक अठोटले बनेको हो । यसलाई अहिलेको संविधान मान्ने कुनै पनि दलले अफ्ठ्यारो मान्नुहुन्छ भन्ने लाग्दैन,’ उनले भने।
उनले सरकार गठनका विषयमा पछि छलफल हुने बताए ।