२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हाम्रा - गाउँघर 

विद्युत् सुविधाको अभाव  : " पहुँच नभएका ठाउँमा सौर्य ऊर्जाकाे उज्यालो "

आइतवार , आश्विन ७, २०८०

गण्डकी, असोज ।  राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १ हजार २०५ घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ । मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर्याइएको हो ।

प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार बागलुङको ढोरपाटन नगरपालिका–६ का ३९१ घरधुरीमा सौर्य ऊर्जा जडानको क्रममा छ । 

तत्काल राष्ट्रिय प्रसारण लाइन जोडिने सम्भावना नभएका ठाउँमा प्रदेश सरकारको अनुदान सहयोगमा सौर्य ऊर्जा जडानको काम भइरहेको छ । 

मन्त्रालयको ऊर्जा शाखाका इन्जिनियर जीवन श्रेष्ठले सौर्य ऊर्जा प्रविधि जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान दिने गरेको बताए ।  

प्रदेश सरकारका मन्त्रालय र सम्बन्धित कार्यालयमा पनि विद्युत् सेवा नियमित गर्न संस्थागत सौर्य ऊर्जा जडान गरिएको उनको भनाइ छ । 

उर्जा मन्त्रालयमा ३०, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा २९, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ४१ र विभिन्न जिल्लामा ९२ किलोवाट गरी कुल १९२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको हो ।

“राष्ट्रिय प्रसारण लाइन नपुगेका र लघुजलविद्युत् आयोजना पनि नभएका ठाउँमा सौर्य ऊर्जा जडान गरिएको हो”, इन्जिनियर श्रेष्ठले भने,  “प्रदेशका सबै घरधुरीमा बिजुली पुर्याएर यसै वर्षभित्र उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने सरकारको तयारी छ ।”

मन्त्रालयको तथ्याङ्कअनुसार राष्ट्रिय प्रसारण लाइन र नवीकरणीय ऊर्जामार्फत गरी प्रदेशका ९९ दशमलव ५० प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको छ । 

बाँकी रहेका शून्य दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली पुर्याउने कार्य भइरहेको छ । पछिल्लो आर्थिक सर्वेक्षण अनुसार २ हजार ८८४ घरधुरीमा मात्र विद्युत् सेवा नपुगेको देखिएको इन्जिनियर श्रेष्ठले बताए । 

ऊर्जाको लक्ष्य हासिल गर्नका लागि प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघुजलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ । जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार २९५ किलोवाट बिजुली उत्पादन नियमित भएको मन्त्रालयले जनाएको छ ।

ती आयोजनाबाट १५ हजार  ४४० घरधुरी लाभान्वित भएका छन् । प्रदेशमा झण्डै चार सय लघुजलविद्युत् आयोजना छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत ३७१ र बाँकी अरु संस्थाले आयोजना निर्माण गरेका हुन् । 

सौर्य ऊर्जा र लघुजलविद्युत्बाट प्रदेशको तीन दशमलव ८२ प्रतिशत घरधुरीमा बिजुली पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले आफ्नै लगानीमा मनाङको नासो गाउँपालिकामा ३० किलोवाटको भिमताङ लघुजलविद्युत् आयोजना निर्माण गरिरहेको इन्जिनियर श्रेष्ठले जानकारी दिए ।  

अन्ठानब्बे किलोवाटको स्याङ्जाको पुतपुते खोला लघुजलविद्युत् आयोजनाको बिजुली पनि गत वर्ष राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । 

बागलुङ, तनहुँ र नवलपुरका केही ठाउँमा बिजुली पुर्याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । ऊर्जा शाखाका अनुसार प्रदेशका पाँच लाख ७४ हजार  ७९८ घरधुरी बिजुलीको पहुँचमा छन् । 

जसमध्ये राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघुजलविद्युत्, नवीकरणीय ऊर्जा आदिको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार