२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हाम्रा - गाउँघर 

बाढी र पहिरोको डर  : “ रातभर सुत्दैनन् ढुमा गाउँका स्थानीय ”

“ पानीका मूल घरभित्र देखिन थाले ”

बिहिवार , श्रावण ३२, २०८०

मुगु, साउन । गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका–५ मा आधादर्जन बढी घरमा क्षति भएको थियो ।  गाउँमाथिबाट आएको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा गाउँका आधादर्जन बढी घरमा क्षति पुर्‍याएपछि उनीहरु अहिले घरबिहीन भएका छन् ।

वर्षातका कारण गाउँमाथिबाट कति बेला पहिरो आउँछ र गाउँका सबैको एकै चिहान बनाउने हो भन्ने चिन्तामा यहाँका स्थानीय नसुतेर रात कटाउने गरेका छन् । 

पानी परेपछि गाउँमाथि रहेको मैतु पखेराबाट पहिरोसँगै ठूला ढुङ्गा खस्न थालेपछि पहिराको डरले उनीहरु नसुतेर रात कटाउने गरेका हुन् ।

“नयाँ घरभित्र सर्न नपाउँदै अघिल्लो वर्षको पहिरोले घर पूर्णक्षति बनायो । अहिले छिमेकीको घरमा सबै परिवार बस्दै आएका छौँ । यही घरभित्र पनि पानीका मूल देखिन थालेका छन्”, स्थानीय कृष्णा रावलले भनिन्, , “अन्यत्र बस्ने ठाउँ छैन, कुन बेला पहिरोले सबै परिवारलाई एकै चिहान बनाउने हो भन्ने चिन्ताले रातभर निन्द्रा लाग्दैन ।” उनका अनुसार यहाँ एक सय २० घरधुरी छन् । 

“पूर्खाहरु यहाँ बसेदेखि गाउँको सिरानमा रहेको मैतु पहराबाट पहिरो आएको थिएन । गत असोजमा परेको अविरल वर्षाले पहिरो पनि आयो, धेरैका घरमा क्षति पनि पुर्‍यायो”, ढुमा गाउँका ज्येष्ठ नागरिक मुना कार्कीले भनिन्, , “यस वर्षको साउनको वर्षातले पहिरोको भेल गाउँभित्रै पस्यो, अन्नबालीमा क्षति बनाएको छ । 

पानीका मूल घरभित्र देखिन थालेका छन् ।” अन्नपात, भाँडाकुडा र लत्ताकपडा छिमेकीका घरमा सारिएको भन्दै बस्नका लागि सुरक्षित बासस्थान नहुँदा नसुतेरै रात बिताउनुपर्ने बाध्यता रहेको उनले बताएकी छन । 

आज बिहान जिल्ला समन्वय समितिका उपप्रमुख नैली कार्की, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक महेश बस्नेतलगायतको टोलीले पहिरोले क्षति पुर्‍याएको स्थानको अवलोकन गरेका छन ।  

उक्त टोलीलाई स्थानीय कृप बुढाले गाउँको अवस्थाका बारेमा जानकारी गराउँदै उचित व्यवस्थापनका लागि माग राखेका थिए ।  स्थलगत अवलोकनका क्रममा उपप्रमुख कार्की, प्रजिअ थापा लगायतले यहाँका अधिकांश घरहरु पहिराको जोखिममा रहेको पाइएको बताएका थिए ।  

स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले योजना बनाएर कार्यान्वयन गरे मात्र ढुमा गाउँको पहिरो नियन्त्रण हुने उनीहरुको भनाइ थियो ।
(

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार