झापा, साउन । झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कूल छ हजार ३२७ मुद्दा दर्ता भएका थिए । यसमा एक हजार ७०७ सम्बन्ध विच्छेदका मुद्दा थिए ।
सम्बन्ध विच्छेदका एक हजार ३०६ मुद्दा फस्र्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार वीरेन्द्र बस्नेतले जानकारी दिए । सो अवधिमा ९६९ अंशबण्डाका मुद्दा दर्ता भएकामा ५२१ फछर्यौट भएका थिए । ४४८ मुद्दा अर्को वर्षलाई सरेका छन् ।
जिल्ला अदालतमा वर्षभरि दर्ता हुने मुद्दामध्ये आधा हाराहारीमा मात्रै फछर्यौट हुने गरेका श्रेष्तेदार बस्नेतले बताए । आर्थिक वर्ष २०७८/८९ मा पनि आधी सङ्ख्यामा मात्र मुद्दा फछर्यौट भएका थिए ।
सो अवधिमा कूल छ हजार ४१९ मुद्दा विचाराधीन रहेकामध्ये तीन हजार ८५९ मुद्दा फछर्यौट भएका थिए । दुई हजार ५६० मुद्दा अर्को वर्षका लागि सरेका थिए ।
आव २०७९/८० मा लागु औषधसम्बन्धी कसुरमा ३७७ मुद्दा दर्ता भएकामा २२० फछर्यौट भएका थिए । यसैगरी, सम्पत्ति लेनदेनसम्बन्धी २३६ मुद्दा परेकामा ११२ फछर्यौट भएका श्रेष्तेदार बस्नेतले जानकारी दिए ।
यस्तै बलात्कार, चोरी र बहुविवाहसम्बन्धी कसुरमा अदालतमा धेरै मुद्दा पर्ने गरेको तथ्याङुक छ । आव २०७९/ ८० मा बलात्कार (करणी) सम्बन्धी कसुरमा २०३ मुद्दा परेकामा १५७ फछर्यौट भएका थिए ।
अदालतको तथ्याङ्क अनुसार बलात्कारसम्बन्धी मुद्दामध्ये जबरर्जस्ती करणीका २२४ मुद्दा परेकामा ११० फछर्यौट भएका छन् । चोरी तथा डाकासम्बन्धी कसुरमा २०९ मुद्दा परेकामा १४७ वटा फछर्यौट भएका जिल्ला अदालतले जनाएको छ । यसैगरी बहुविवाहका ५४ मुद्दा परेकामा ३० वटा फछर्यौट भएका थिए । रासस