मोरङ, साउन । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा गठबन्धन दलका तर्फबाट कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् ।
सभामुख बाबुराम गोतमले सरकार गठनका लागि बहुमत पुर्याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक व्यवस्था छ ।
सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा ) एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्याएको हो ।
एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् । सभामुख गौतमले राजीनामा नदिएको अवस्थामा सरकार गठनका लागि गठबन्धन दलको बहुमत नपुग्ने र त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा गौतमले पदबाट राजीनामा दिन सहमत भएका थिए ।
गौतमलाई सभामुख पद छोडेकाले मन्त्री बनाउने निष्कर्षमा पार्टी पुगेको माओवादीका एक सांसदको भनाइ छ । तर गौतम मन्त्रीमा जानेरनजाने अहिले नै भने निर्णय भइनसकेको उनको भनाइ थियो ।
सर्वोच्च अदालतले तटस्थ भूमिकामा रहँदा सभामुख गौतमको समर्थनमा प्रदेश प्रमुख खापुङले गठबन्धन दल कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने गरेको निर्णय बिहीबार बदर गर्दै परमादेश जारी गरेपछि खापुङले सरकार गठनका लागि आह्वान गरेका थिए ।
उनले संविधानको धारा १६८ को उपधारा ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि मंगलबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए ।