२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

हाम्रा - गाउँघर 

ज्येष्ठ नागरिक भन्छन्   :  “ भत्ता नै बुढेसकालको दिगो सहारा ”

“भत्ताले गर्दा बुढाबुढीले भने जस्तो खाएकै छौँ, मन परेको लाएकै छौंँ ”

मंगलवार , श्रावण ९, २०८०

तनहुँ,  साउन । कान्छो छोरा अमृत चितौन बस्छ, सधैँ उतै बस्न जाम आमा भनेर हत्ते ग¥यो र गएँ पनि,” भानु नगरपालिका–१३ पोखरी छापकी ७२ वर्षीया धनमाया गुरुङले भनेकी छन, “तर झलझली गाउँको हावापानी सम्झिएँ, बस्नै सकिन र मेरै भत्ताले पालिन्छु भनेर गाउँ फर्किएँ ।” 

भानु नगरपालिका–१३ को कार्यालयमा ज्येष्ठ नागरिक भत्ता नवीकरण गर्न स्वयं उपस्थित हुने क्रममा धनमायाले दुई वर्ष पहिलेको अनुभव सुनाए ।   उनी जस्तै अन्य ज्येष्ठ नागरिकले समेत ज्येष्ठ नागरिक भत्ता आफूहरुको बुढेसकालको दिगो सहारा भएको बताए  ।   

छोरासँगै बस्न भनेर दुई वर्ष पहिले भरतपुर गए पनि एक महिना बस्दैमा आत्तिएर गाउँ फर्किएको धनमायाको अनुभव छ । 

प्रचण्ड गर्मी र पानीको नमिठो स्वादले अत्तिएर गाउँ फर्किएको उनले जानकारी दिए । “रातभरी पङ्खा लगाए पनि बानी नपरेकाले चितवनमा तातो हावाले गर्दा सुत्नै नसकेर खुबै आत्तिए,’ धनमायाले भने, “गाउँमा भने पङ्खा नै चाहिदैन । अहिले पनि कम्बल ओडेर सुत्ने गर्छौँ ।” 

म्याग्दे गाउँपालिका–६ की ७३ वर्षीया राममाया परियारले आफ्ना तीन छोराले बेवास्ता गरेपछि आफू राज्यले दिने भत्ताकै भरमा एक्लै बस्दै आएको गुनासो छ । उनको श्रीमान् तिलबहादुरको ७५ वर्षको उमेरमा दुई वर्ष पहिले मृत्यु भएको थियोे । 

विवाह भइसकेका तीन छोरीले आफूहरुसँग बस्न भनेपनि एक्लै बसेर बाँकी जीवान धानेको परियारको भनाइ थियो । ‘श्रीमान् खसेपछि छोराहरुले वास्ता नै गरेनन् । 

छोरीहरुले हामी पाल्छौँ भनेर हत्ते गरेपनि बुढाको चिनो घर छाड्न मनले मानेन,’ उनले भने, “त्यसैले भत्ताकै भरमा धानिँदै आएकी छु ।” 

आफू र श्रीमती शिरमायालाई ज्येष्ठ नागरिक भत्ताले ठूलो राहत मिलेको म्याग्दे गाउँपालिका–४ का ७६ वर्षीय नरबहादुर थापामगरले बताए । दुई छोराले थर्पु बेसीमा घर बनाएर बसेपनि आफूहरुले मूल घर नछाडेको उनले जानकारी दिए ।  

“भत्ताले गर्दा बुढाबुढीले भने जस्तो खाएकै छौँ । मन परेको लाएकै छौंँ ” नरबहादुरले भने, “हामी बुढाबुढीलाई भत्ता नै ठूलो सहारा भएको छ ।” म्याग्दे–४ थर्पुस्थित ज्योति विकास बैंकमा सोमबार भेटिएका नरबहादुर दम्पत्तिले राज्यले भत्ता नदिए जीवन धान्न सास्ती पर्नेसमेत बताए ।  

घरबाट करिब एक घण्टाको बाटो सवारी साधनमा आउनुपर्दा आफूहरुलाई सास्ती भएको र राज्यले ज्येष्ठ नागरिक र अशक्तलाई घरमै पुगेर रकम दिने व्यवस्था गर्नुपर्नेमा नरबहादुरले जोड दिए ।   

आफूले पाउँदै आएको भत्ता रकमसमेत घरखर्च र परिवारको औषधि उपचारमा खर्च गर्दै आएको म्याग्दे– २ थुम्कीबाट भत्ता लिन बैंकमा आउनुभएकी ७३ बर्षीया जुठी कामीको भनाइ थियो । दुई छोरीको विवाह भइसकेको र एक छोरा ५७ बर्षीय धनसिं रोगी भएको जुठीले बताए  ।  

“यो पैसा निकालेपछि भोलि नै छोरालाई लिएर जचाउन पोखरा जाने विचारमा छु,’ श्रीमान् तिलबहादुरको १०÷११ वर्ष पहिले मृत्यु भएको बताउँदै उनले  भने, “भत्ता रकम नपाइदो हो त हामी गरिब त्यसै मर्ने थियौंँ । यही रकमले औषध उपचार पनि गर्न पाईएको छ ।”

राज्यले दिने भत्ता रकम गाउँ घरमै दिने व्यवस्था गरे आफूहरुले घण्टौँ हिँडेर आउन नपर्ने जुठीले बताए ।  

राज्यले ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक रु चार हजार , ६० वर्ष उमेर कटेका दलित ज्येष्ठ नागरिक र कर्णाली प्रदेशकालाई मासिक रु दुई हजार  ६६०, एकल महिला र विधुवालाई मासिक रु दुई हजार ६६०, पूर्ण अपाङ्गता भएकालाई मासिक रु तीन हजार  ९९०, अतिअशक्त अपाङ्गता भएकालाई रु दुई हजार  १२८ र लोपोन्मुख आदिवासी जनजातिलाई मासिक रु तीन हजार  ९९० र दलित बालबालिकालाई मासिक रु  ५३२ राज्यले उपलव्ध गराउँदै आएको छ । 

प्रत्येक तीन महिनामा राज्यले बैंकमा भत्ता रकम उपलव्ध गराउने गर्दछ । सामाजिक सुरक्षाभत्ता वितरण कार्यविधिअनुसार साउन महिनामा नवीकरण गरिसक्नुपर्ने गरी राज्यले सूचना प्रवाह गरिसकेको स्थानीय पालिकाहरुले जनाए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार