२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुदूरपश्चिम प्रदेशसभा : 'बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि'

बिहिवार , आषाढ २८, २०८०

सुदूरपश्चिम, असार । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आजको बैठकमा भाग लिने सत्तापक्षीय प्रदेशसभा सदस्यले सरकारले लिएको नीतिविपरीत वास्तविकता र यथार्तपरकभन्दा फरक ढङ्गले बजेट ल्याइएको भन्दै यस्तो ढङ्गको बजेटबाट न्यायपूर्ण एवं समतामूलक समाज निर्माण गर्न नसकिने बताउनुभयो ।

उहाँहरूले मन्त्रालयहरूका संरचनाको मर्मत र विभिन्न सुविधा थप्ने शीर्षकमा अनावश्यकरूपले बजेट छुट्याइएको भन्दै प्रदेशसभाका सदस्यले दिएको सुझावका आधारमा बजेट कार्यक्रममा विकासका योजना समेट्न ध्यानाकर्षण गराउनुभयो ।

प्रतिपक्षी दलका सदस्यले सीमित नेता र मन्त्रीको निर्वाचन क्षेत्रमा मात्र केन्द्रित गरेर बजेट आएको भन्दै यो बजेट कार्यक्रम दिशाहीन र गन्तव्यहीन भएको आरोप लगाउनुभयो ।

बजेटमाथिको छलफलमा सत्तापक्षीय सदस्यहरू मेघराज खड्का, शिवसिंह ओली, प्रकाश रावल, प्रकाशबहादुर बम, तुल्सी देवकोटा, खुशीराम डगौरा थारू, लक्ष्मी विक, जानकीदेवी कुँवर र सरस्वती खड्का हुनुहुन्थ्यो ।

यसैगरी प्रतिपक्षी दलका धर्मराज पाठक, वीरबहादुर थापा, चक्रबहादुर मल्लले पनि छलफलमा भाग लिनुभएको थियो । बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरिएका प्रदेशसभा सदस्यको नाम बाचन गर्नुभएको थियो । प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट कार्यक्रममाथिको छलफल जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार