२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोहलपुरलाई हरित सहर बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री चौधरी

सोमवार , आषाढ २५, २०८०

बाँके, असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बाँकेको कोहलपुर नगरपालिकालाई हरित सहरका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

राष्ट्रपति चुरे (तराई मधेस संरक्षण समितिअन्तर्गत बाँकेको कोहलपुरस्थित कोहलपुर) नेपालगञ्ज सडकको साझा चोकदेखि हाई स्कुल चोकसम्म आज आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा सहभागी मुख्यमन्त्री चौधरीले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

मुख्यमन्त्री चौधरीले सिमेन्ट र सरियाको सहरभन्दा पनि कोहलपुरलाई हरियाली सहरका रुपमा चिनाउनुपर्ने बताउनुभयो । “अहिले सिमेन्ट र सरियाले सहरको हरियाली उजाडिएको छ”, उहाँले भन्नुभयो, “कोहलपुर नगरपालिकाले हरित नगरका लागि थालेको अभियानमा प्रदेश सरकारको पूर्णसाथ छ । कोहलपुर प्रदेशको हरियाली नमूना सहर बन्नुपर्छ ।” 

उहाँले नगरवासीलाई बोटबिरुवा रोप्नुमात्र ठूलो कुरा नहुने बताउँदै संरक्षण महत्त्वपूर्ण कुरा भएको बताउनुभयो । मुख्यमन्त्री चौधरीले घरघरमा रोप्ने बिरुवा र सडक सडकमा रोप्ने बिरुवाको पहिचान गरेरमात्र वृक्षरोपण गर्न पनि सुझाव दिनुभयो । बिरुवा संरक्षणमा स्थानीयवासीको चासो बढाउनका लागि जनताले रुचाएका बिरुवा रोप्न नगरप्रमुखलाई उहाँले सुझावसमेत दिनुभयो ।  

कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई हरित सहर बनाउने अभियानमा स्थानीय सरकार लागिपरेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । नगरप्रमुख आचार्यले माटोको ल्याब परीक्षण गरेर माटो सुहाउँदो बिरुवा रोपिएको जानकारी दिनुभयो । 

बाह्रै महिना हरियाली हुने बोटबिरुवा रोपिएको जानकारी दिँदै उहाँले नगरलाई हरित नगर बनाउने अभियानमा हातेमालो गर्न उहाँले नगरवासीलाई आह्वानसमेत गर्नुभयो । 

कोहलपुर नगरपालिकाको तीन लाख २५ हजार, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन इकाइ कैलालीको ३३ लाख ४८ हजार र त्यसमा १० प्रतिशत जनश्रमदानमा बिरुवा रोपिएको उपभोक्ता समितिका अध्यक्ष रामु लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार