२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गण्डकी प्रदेश सरकार : मन्त्रालयको कार्य विभाजन हेरफेर हुने

बिहिवार , बैशाख २८, २०८०

गण्डकी, बैशाख । गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने भएको छ । मन्त्रालयको सङ्ख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ ।

अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय घटाउँदा कार्य विभाजन नमिलेको देखिएकाले केही परिमार्जन गर्न लागिएको बताउनुभयो ।

मन्त्रालयको सङ्ख्या सात नै रहन्छ, बढ्दैन, तर नयाँ कार्य विभाजन हुन्छ , उहाँले भन्नुभयो, आज कार्य विभाजन टुङ्गिन्छ, त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ । मुख्यमन्त्री पाण्डेले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति भइसकेकाले अब मन्त्री छान्न र मर्यादाक्रम मात्र तोक्न बाँकी रहेको बताउनुभयो ।

अहिलेलाई माओवादी केन्द्रले दुई मन्त्रालय लिने सहमति भएको छ, एकीकृत समाजवादीलाई पनि मिलाएर लैजानुपर्ने अवस्था छ, उहाँले भन्नुभयो । मुख्यमन्त्री पाण्डेले एक दुई दिनभित्रमै सरकारले पूर्णता पाउने बताउनुभयो । यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पाण्डेले वैशाख २१ गते प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको थियो ।

साठी सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी) का एक गरी ३५ प्रदेशसभा सदस्यले उहाँलाई विश्वासको मत दिनुभएको थियो ।

हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी रहनुभएको छ । सत्तारुढ दलहरु नयाँ मन्त्री छान्ने कार्यमा जुटेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार