२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

लुम्बिनी प्रदेश सरकार 

मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी : " ५३ सांसदको हस्ताक्षर बुझाए "  

कांग्रेस र माओवादी केन्द्रसहित आठ दल र एक स्वतन्त्रको समर्थन  

बिहिवार , बैशाख १४, २०८०


लुम्बिनी , बैशाख । नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आज दाबी पेस गरे ।  संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनले प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन ।  

नेकपा (एमाले) नेतृत्वको सरकारका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट गत सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले मङ्गलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन  ।  

प्रदेश प्रमुख शेरचनले आज अपराह्न ४ बजेसम्म उपधारा २ बमोजिम सरकार गठन हुने विश्वासिलो आधारसहित आउन दललाई आह्वान गरेका छन ।  कांग्रेस र माओवादी केन्द्रसहित आठ दल र एक स्वतन्त्र गरी ५३ सांसदले चौधरीलाई संविधान बमोजिम मुख्यमन्त्री नियुक्त गर्न निवेदन दिएका थिए । 

प्रदेश प्रमुखले तोकेको समय सीमाबमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न नेपाली कांग्रेससहित गठबन्धन दलका सदस्यले सरकारको दाबी प्रस्तुत गरेका हुन् । 

उनलाई मुख्यमन्त्री नियुक्ति गर्न नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) को समर्थन छ ।  कुल ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११ सदस्य छन् । 

साथै राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार÷चार,  जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक÷एक र एक स्वतन्त्र सदस्य छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार