मोरङ, फागुन । प्रदेशसभाबाट प्रदेश १ को नाम ‘कोसी प्रदेश’ पारित भएको छ । बुधबार कोसी नामकरणको पक्षमा सत्तारूढ दल एमाले, माओवादी र राप्रपा तथा प्रमुख प्रतिपक्षी दल कांग्रेसका गरी ८२ सांसदले मतदान गरेका थिए ।
एकीकृत समाजवादीका ४ जनाले भने विपक्षमा मत दिए । ६ सदस्य अनुपस्थित थिए । जनता समाजवादी पार्टीकी एकमात्र सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बू र राप्रपाकी सविना बजगाईं ढोका बन्द भएपछि आएकाले मत विभाजन प्रक्रियामा सहभागी हुन पाएनन् । अनुपस्थित हुने अन्य चार जना कांग्रेस र एमालेका छन् ।
कांग्रेस र एमालेले संयुक्त रूपमा कोसी प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । एमालेका रामबहादुर मगर प्रस्तावक, कांग्रेसका भूमिप्रसाद राजवंशी, एमालेका निरन राई र विदुरकुमार लिङ्थेप समर्थक रहेका थिए ।
पूर्वसहमतिविपरीत माओवादी कोसी नामकरणको प्रस्तावमा समर्थक नबसेपछि कांग्रेसले समर्थन फिर्ता लिएको थियो । पछि मतदान भने पक्षमा गरेको थियो ।
प्रतिपक्षी एकीकृत समाजवादी र सत्तारूढ जनता समाजवादी पार्टीले संयुक्त रूपमा किरात–लिम्बुवान–सगरमाथा प्रदेश नामकरणका लागि दर्ता गराएको प्रस्ताव स्वतः अस्वीकृत भएको थियो ।
कोसी प्रदेश नामकरण प्रस्तावको छलफलमा १५ सांसदले भाग लिएका थिए । सदनमा उठेको प्रश्नको जवाफ प्रस्तावक मगरले दिएपछि सभामुख बाबुराम गौतमले प्रस्तावमाथि संशोधन प्रस्ताव दर्ताका लागि दुई घण्टा समय दिएका थिए ।
किरात–लिम्बुवान–कोसी नामकरणका लागि परेको संशोधन प्रस्ताव अस्वीकृत भएको थियो । त्यसपछि मतविभाजन प्रक्रियामा कोसी प्रदेश नाम पारित भएको सभामुख गौतमले घोषणा गरेका थिए ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश नामकरणका लागि दुई तिहाइ अर्थात् ६२ सांसद आवश्यक भए पनि कोसीको पक्षमा ८२ जनाले मतदान गरे ।