२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संघको असर प्रदेशमा पनि : ' अल्पमतमा गण्डकी सरकार '

शनिवार , फाल्गुण १३, २०७९

 

कास्की, फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी  आज सरकारबाट बाहिरिएको छ । त्यसको असर गण्डकी प्रदेशमा  परेको छ गण्डकी प्रदेशमा राप्रपाबाट सरकारमा नेतृत्व गरेका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले पार्टीको निर्देशन पालना गर्नुपर्ने भन्दै ‘सम्भवत’ भोलि राजीनामा दिने  सञ्चारकर्मीलाइ बताएका छन् ।
पार्टीको निर्णयपछि संघीय सरकारसँगै  प्रदेशबाट पनि बाहिरिने भएपछि त्यसको असर प्रदेश सरकारमा पनि परेको हो । समानुपातिक प्रणालीबाट दुई सिट जितेको राप्रपाले पहिलो पटक गण्डकी प्रदेशसभा प्रवेश गरेको थियो ।  राप्रपा संसदीय दलका नेतासमेत रहेका गुरुङले नैतिकताको आधारमा पनि सरकारबाट बाहिरिनुपर्ने बताए ।

‘केन्द्रमा पार्टी सरकारबाट बाहिरिएको छ । हामीलाई पनि प्रदेशबाट बाहिरिने निर्देशन आएको छ,’ गुरुङ भन्छन्, ‘शनिबार बेलुका संसदीय दल र पार्टी प्रदेश कार्यालयको बैठक छ । बैठकमा छलफल गर्छौं र आइतबार मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउनेछु ।’

केन्द्रको राजनीतिक समीकरण उथलपुथल हुने संकेत पाएपछि मन्त्री गुरुङ शुक्रबार संघीय राजधानी पुगेका थिए । शनिबार दिउँसो उनी पोखरा फर्किएका हुन् ।

मुख्यमन्त्री खगराज अधिकारीले राप्रपा सरकारबाट बाहिरिए पनि समर्थन भने गर्नसक्ने बताए । सरकारबाट बाहिरिने विषयमा आफूलाई कुनै जानकारी नआएको भन्दै मुख्यमन्त्री अधिकारीले राप्रपा सरकारबाट बाहिरिए संविधान र विधानअनुसार अगाडि बढ्ने बताए ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले सरकारको नेतृत्व गरेका छन् । उनलाई माओवादी केन्द्र र राप्रपाको साथ थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउनको लागि ३१ सांसदको आवश्यकता पर्छ । एमालेका २२, माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसद गरी ३२ सांसदको समर्थनमा एमाले नेतृत्वमा सरकार बनेको थियो ।

स्वतन्त्र सांसदसहित संसदमा सहभागी ४ दलमध्ये सवैभन्दा ठूलो दलको रुपमा कांग्रेसको २७ सिट रहेको छ । नयाँ सत्ता समीकरण अनुसार कांग्रेस र माओवादी मिलेर सरकार बन्नेछ । दुई दल मिल्दा ३५ सांसद पुग्छन् । 
गण्डकीमा मुख्यमन्त्रीसहित एमालेले चार वटा मन्त्रालयको नेतृत्व गरेको थियो भने, माओवादीले दुई र राप्रपाले एउटा मन्त्रालयको नेतृत्व लिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार