काठमाडौँ, पुस । बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले यही पुस ८ गते दिनको ११ बजे प्रदेशसभा सचिवलायमा सर्वदलीय बैठक आह्वान गरिएको छ ।
सर्वदलीय बैठकबाट नवनिर्वाचित सदस्यलाई शपथग्रहण गराउन सबै प्रदेशसभाका सदस्यलाई सूचनाको सम्प्रेषण गरिएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
यसैगरी बागमती प्रदेशसभामा नुवाकोट जिल्लाको क्षेत्र नं २ (१) बाट प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षका रामप्रसाद ढुङ्गाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्य भएका छन । उनी नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार भई नुवाकोटबाट विजयी भएका छन ।
बागमती प्रदेशसभाको हाल सभामुख र उपसभामुखको निर्वाचन नभइसकेको अवस्थामा प्रदेश सभाको ज्येष्ठ सदस्य ढुङ्गानाले केही दिनभित्रै प्रदेशप्रमुख यादव चन्द्र शर्माबाट शपथग्रहण गरेपछि प्रदेशसभाका बाँकी एक सय नौजना सदस्यहरूलाई उनले नै शपथ गराउनु हुने कार्यसूची रहेको प्रदेशसभाका सचिव खड्काले राससलाई बताएका छन ।