चुरोट तथा सुर्तीको बाहिरी खोलमा बैधानिक प्रावधान भन्दै लेखिएको हुन्छ, – 'ध्रुम्रपान र सुर्ती सेवन हानिकारक छ , यसले क्यान्सरसमेत हुनसक्छ ।’ अब उपभोक्ताले यो सूचनामा लेखिएको कुरा सत्य हो भनेर बुझ्ने कि ? खोलमा लेख्नैपर्ने बैधानिक प्रवधान भएका कारण लेखिएको हो भनेर बुझ्ने ? धुम्रपान र सुर्ती सेवन साँचिकै हानिकारक रहेछ भनेर बुझ्ने हो भने ‘ बैधानिक प्रावधान’ भनेर सुरुमै उल्लेख गरिएको छ ।
होइन, बैधानिक प्रावधानका लागि मात्रै लेखिएको हो भनौ भने, धुमपान तथा सुर्ती सेवान हानिकारक हुन्छ भन्ने कुरा असत्य होइन । चुरोट र सुर्तीको खोलमा लेखिएको ‘ बैधानिक प्रावधान’का अक्षर भनेझै नेपालको संविधान (२०७२) मा लेखिएको महिला सहभागिताको प्रावधानका ब्यवस्थालाई पनि दलका नेताले त्यस्तै अक्षर जस्तो बनाएका छन । हाम्रो मुलुकको राजनीतिक तथा अन्य ब्यवस्था र कार्यान्वयनको अवस्थालाई हेर्दा नेताहरुले उस्तै उस्तै रुपमा बुझेको र बनाएको देखिन्छ । संविधानमा महिला सहभागीताको प्रावधान प्रक्रिया पु¥याउनकै लागि लेखिएको हो या आधा आकाश ओगटेका महिलाको बास्तविक प्रतिनिधित्व होस् भनेर संविधानमा विशेष व्यवस्था गरिएको हो ? भन्ने प्रश्नको उत्तर ज्यादै जटिल बन्दै गइरहेको छ ।
नेपालको संविधान (२०७२) का अक्षरहरु पढ्ने हो भने राजनीतिमा महिलाको सहभागिताका हिसावले विश्वमै नमुना मुलुकका रुपमा मान्न सकिन्छ । स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ । प्रदेश संसद र संघीय संसदमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ । संसदको सभामुख र उपसभामुख पदमा ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपति पदमा पनि कम्तिमा ५० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चित गरिएको छ । स्थानीय सरकारको प्रमुख र उपप्रमुखमा पनि कम्तिमा ५० प्रतिशत प्रतिनिधित्वको सुनिश्चित गर्ने जमर्को गरिएको छ । तर व्यवाहारमा हेर्ने हो भने संविधानमा गरिएको यो व्यवस्था अत्यन्त भद्दा राजनीतिक मजाक सावित भएको छ । पहिलो कुरा त महिलाका नाममा पहुँचवाला नेताका श्रीमती तथा आफन्तलाई पजनी गर्ने विकृति देखिएको छ । दोस्रो कुरा स्थानीय तहमा महिलालाई उपप्रमुख वा उपमेयर पदमा मात्रै उमेद्वार बनाउने गरिएको छ । मेयर तथा अध्यक्ष पदमा महिलालाई उमेद्वारका रुपमा अघि सार्न चरम कन्जुस्याँई गर्ने गरिएको छ । संघीय संसदका दुईवटा सदन र प्रदेश संसदमा हेर्ने हो भने महिलालाई उपसभामुख र उपाध्यक्ष पदमा सिमित गर्ने गरिएको छ ।
मुलुकको मुख्य नीति निर्माण गर्ने, सरकार निर्माण गर्ने थलो हो प्रतिनिधिसभा । प्रतिनिधिसभामा कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने संविधानको प्रावधानलाई कर्मकाण्डमा मात्रै सिमित गरिएको छ । कर्मकाण्ड पनि विकृत कर्मकाण्ड ।
कस्तो विकृत कर्मकाण्ड ? एकजना पुरोहित ग्रह शान्तिका लागि यजमान कहाँ पुगेछन् । ग्रह शान्तिको पूजा अघि बढाउँदै जाँदा उनले नजीकै बन्चरो देखेछन् । उनको घरमा बन्चरोको आवश्यकता परेको रहेछ । उनले संस्कृतमा श्लोक भट्याउँदै भनेछन् –‘ प्वाल परेको फलाम चढाउनोस् , स्वाहा ।’ तर नजिकै रहेको बञ्चारोको सट्टा यजमानले सियो ल्याउन श्रीमतीलाई अह्राएछन् । त्यसपछि फेरी पुरोहतिले संस्कृतमा श्लोक भट्याउँदै भनेछन् –‘ प्वाल परेको फलाम भए पनि हुन्छ , नभए पनि हुन्छ , स्वाहा ।’ पुरोहितले खोजेका थिए बञ्चरो , तर यजमानले अघि सारे सियो ।
हाम्रो संविधानमा लेखिएको महिला प्रतिनिधित्वको प्रावधान करिव करिव बञ्चारो र सियोको यही कथा जस्तै बनेको छ । आधा आकाश ओगटेको महिला जगतले साच्ची नै शासन सत्तामा हिस्सा पाओस भन्नका लागि संविधानमा यस्ता प्रावधान राखिएको हो , तर राजनीतिक दलका नेताहरुले प्रावधानमार्फत पाएसम्म आफ्ना श्रीमती , श्रीमती नपाए प्रेमिका , प्रेमिका पनि नपाए अन्य आफन्तलाई पजनी गर्ने गरेका छन् । यो मामिलामा फलानो पार्टी , डिस्कानो पार्टी भन्न नपर्ने अवस्था छ । सबै पार्टी उस्तै छन् ।
मुलुकको राजनीतिको मियो तथा सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको उदाहरण हेर्ने हो भने ‘ जो अगुवा, उही बाटोमा हगुवा’ भन्ने उखान चरितार्थ भएको जस्तो देखिन्छ । नेपाली कांग्रेस यस्तो इतिहास बोकेको पार्टी हो, जसले आजभन्दा ६५ वर्ष अघि भएको आम निर्वाचनमा महिलालाई प्रतिनिधिसभामा उमेद्वार मात्रै बनाएन चुनाव जिताएर मन्त्री समेत बनाएको थियो । त्यो बेला पढेलेखेका र अक्षर चिनेका महिलाहरुको संख्या कति पो थियो होला र ? राजनीतिमा होमिन चाहने महिलाको संख्या कति पो थियो होला र ? तर आज उच्च शिक्षा हासिल गरेका महिलाहरुको संख्या लाखौं छ । जनअधिकार प्राप्तिका संघर्षमा पुरुषको तुलनामा महिलाको सहभागीता बढी छ । राजनीतिमा सामेल भएर मुलुक चलाउन सक्ने ल्याकत राख्ने महिलाको संख्या हरेक पार्टीमा उल्लेख्य छ । तर अवशर कसले पाउँछ ? नेपाली कांग्रसकै उदाहरण हेर्ने हो भने डा। दुर्गा पोखरेल गुमनाम छिन् । प्रधानमन्त्री भएकै कारण आरजु राणाले समानुपातिकबाट अवशर प्राप्त गरेकी छन् । दुर्गा थापा तथा कृष्णा अमात्यलाई गुमनाम बनाएर गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाणले आफ्नी श्रीमती मञ्जु खाणलाई समानुपातिक सांसद बनाएको प्रकरणले नेपाली कांग्रेसको साख गिरेको छ ।
प्रतक्षतर्फ टिक पाउँदा सँधै गोरखा क्षेत्र नं २ बाट चुनाव जित्दै आएकी कमला पन्तको ठाउँमा कांग्रेसले यसपटक माओवादीका अध्यक्ष प्रचण्डलाई अघि सा¥यो । बाँकी रहेको गोर्खाको आर्को क्षेत्रमा कांग्रेसले कुन आधारमा केका लागि व्यापारी राजेन्द्र बजगाइँलाई टिकट बेच्यो ? भन्ने प्रश्न ज्यादै पेचिलो बनेको छ ।
३३ प्रतिशतको संवैधानिक प्रावधान समानुपातिकबाट पुगिहाल्छ नी भन्दै प्रतक्षतर्फ महिलालाई उमेद्वार बनाउन कन्जुस्याँइ गर्ने तर समानुपातिकमा आफ्ना श्रीमती , प्रमिका तथा नातागोता भर्ने विकृतिलाई कांग्रेस जस्तो पार्टीले समेत निरन्तरता दिने हो भने मुलुकको लोकतन्त्र बच्ला त ? भन्ने प्रश्न कम गम्भीर छैन ।
विगतलाई फर्केर हेर्ने हो भने २०१५ सालको आम निर्वाचनमा १ सय ९ मध्ये नेपाली कांग्रेसले ७४ सिटमा चुनाव जितेको । डडेलधुराबाट चुनाव जितेकी द्धारिका देवी ठकुरानीलाई मन्त्री बनाईको थियो । २०४७ सालको संविधानमा राजनीतिकदलहरुले प्रतिनिधिसभा तर्फ कम्तिमा ५ प्रतिशत महिला उमेद्वार खडा गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको । सो प्रावधान अन्तरगत नेपाली कांग्रेसले २०४८ सालको आम निर्वाचनमा २०५ मध्ये ११ सिटमा महिलालाई उमेद्वार बनाएको थियो । जसमध्ये कांग्रेसले ११० सिटमा चुनाव जितेको । ११० मध्ये ५ जना महिलाले चुनाव जितेका थिए । मोरङ ५ बाट शैलजा आचार्य, धनुषा २ बाट लीला कोइराला , सर्लाही ३ बाट मीना पाण्डे , गोरखा २ बाट मैयादेवी श्रेष्ठ र पर्वत २ बाट उमा अधिकारीले चुनाव जितेका थिए ।
यसैगरी २०५१ सालमा मोरङ ७ बाट शैलजा आचार्य , धनुषा २ बाट लीला कोइराला , सर्लाही २ बाट मिना पाण्डे , गोरखा क्षेत्र नं २ बाट कमला पन्त गरी चार जना महिलाले चुनाव जितेका थिए । त्यतिबेला नेपाली कांग्रेसले २०५ मध्ये कांग्रेस ८३ सिटमा चुनाव जितेको थियो ।
२०५६ सालमा नेपाली कांग्रेसले २०५ मध्ये १११ स्थानमा चुनाव जित्दै गर्दा सिराह २ चित्रलेखा यादव , चितवन १ सावित्री वोगटी पाठक , बर्दिया १ काशी पौडेल र कैलाली १ सुशीलान स्वाँर गरी चारजना महिला निर्वाचित भएका थिए ।
२०६४ मा २४० मध्ये नेपाली कांग्रेसले ३७ सिट जितेको थियो । जसमध्ये काठमाडौं ४ बाट सुप्रभा घिमिरे र अर्घाखाँची २ पुष्पा भुसाल गरी दुई जना महिला निर्वाचत भएका थिए । २०७० मा नेपाली कांग्रेसले २ सय ४० मध्ये १ सय ५ सिट जितेको थियो । महोत्तरी २ बाट किरण यादव , सिराह ३ बाट सितादेवी यादव , कास्की २ बाट शारदा पौडेल , बाग्लुङ १ बाट चम्पा खड्का , दाङ १ बाट पार्वती डिसी चौधरी र दाङ २ बाट सुशीला चौधरी गरी ६ जना महिला निर्वाचत भएका थिए । २०७४ मा १६५ मध्ये नेपाली कांग्रेसले २३ सिट जित्दै गर्दा महिलाको प्रतिनिधित्व शुन्य थियो । हालै सम्पन्न आम निर्वाचन २०७९ मा प्रतक्षतर्फका १६५ मध्ये नेपाली कांग्रेस ५७ सिटमा जितेको छ । तेह्रथुमबाट चुनाव जितेर सीता गुरुङले निल जोगाएकी छिन् ।