२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

तिहार अर्थात् यमपञ्चकको चौथो दिन 

आज गोवद्र्धन, बलि, गोरु र हलि पूजा गरियो :  "भैलो र 'देउ शिर रे' खेल्ने परम्परा"

बुधवार , कार्तिक ९, २०७९


तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बलि, गोरु, हलि एवम् कृषकको पूजाआजा गरी मनाइएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानेर पूजा गर्ने गरिएको छ ।  द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । 
गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताएका छन ।  भगवान् विष्णुको आज्ञाअनुसार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मत्र्यलोकको शासन गर्ने अधिकार बलिराजाले पाएको पौराणिक मान्यता छ । 
दानमा कहलिएका राजा बलिले नै भलो होस् भनेर भैलो र देउ शिर रे भनी देउसी खेल्ने परम्पराको सुरुवात् गरेको विश्वास छ । यसै आधारमा आज बलिको पनि पूजा आराधना गरिएको छ ।
प्राचीनकालदेखि नै गोरुले कृषिकर्मका लागि खेत, बारी जोतेर महत्वपूर्ण योगदान गर्दै आएको छ । महादेवको वाहनको रुपसमेतमा पूजिने गोरु (साँढे) लाई आज पूजा गरी मीठा मीठा खानेकुरा दिए वर्षभर खुसी भएर कृषि कर्ममा सहयोग गर्ने विश्वास छ । 
यसैगरी गोरु जोत्ने हलिलाई पनि आज घरमा बोलाएर टीका दक्षिणासहित मीठा कुरा खान दिइन्छ । यसैले आजको दिनलाई हली तिहारसमेत भनिन्छ ।वर्षभर कृषि कर्म गर्ने कृषकलाई पनि आज पूजा गरी मीठा मीठा खानेकुरा खान दिइएको छ । तिहारमा काग, कुकुर, गाई, गोरु, हलि, कृषकलाई पूजा गर्नुले कामका आधारमा कसैलाई भेदभाव नगरी सबैको महत्व रहेको सांस्कृतिक रुपमा अर्थ दिने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार