२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'सङ्घीयता संस्थागत गर्न महत्वपूर्ण काम भएका छन् ' : मुख्यमन्त्री पोखरेल

शुक्रवार , भाद्र १०, २०७९


गण्डकी, भदौ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयता संस्थागत गर्न गण्डकी प्रदेश सरकारले महत्वपूर्ण काम गरेको बताएका छन । 
मुस्ताङका जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा अन्य सङ्घ संस्थाका प्रमुखसँगको अन्तरक्रियामा उहाँले सङ्घीयतालाई संस्थागत बनाउन जगदेखि नै काम थालिएको र यसबीचमा पूर्वाधार मात्र नभएर सामाजिक क्षेत्रमा उल्लेखनीय काम भएको बताए ।  काम गर्ने क्रममा भएका गल्ती कमजोरीलाई लिएर शासन व्यवस्था माथि नै प्रश्न उठाउने बेला नभएको उनले बताए । 
सीमित साधनस्रोत र जनशक्तिकाबीच सडक, पुलसँगै उज्यालो प्रदेश कार्यक्रमदेखि ‘एक घर, एक धारा’ जस्ता नमूना काम गर्न सफल भइएको मुख्यमन्त्री पोखरेलले बताए । 
शासन व्यवस्थालाई सुदृढ पार्दै नागरिकका अपेक्षा पूरा गर्न आफूले बिना पूर्वाग्रह कार्य सम्पादन गर्दै आएको उनको भनाइ छ । गुनासो नआउने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिँदै मुख्यमन्त्री पोखरेलले कर्मचारीलाई सक्षम बनाउन प्रदेश प्रशिक्षण प्रतिष्ठानले काम गर्दै आएको बताएका छन । 
सङ्घ सरकारलाई कुरेर बस्दा ढिलाइ भएको भन्दै उहाँले प्रदेश निजामती कर्मचारी विधेयक र स्थानीय तह कर्मचारी विधेयक अध्यादेशबाट ल्याउन लागिएको जानकारी दिएका छन ।  केन्द्रिकृत मानसिकता नै सङ्घीयता कार्यान्वयनको वाधक बनेको उनको भनाइ छ ।
कोरोला त्रिवेणी सडक प्रदेशकै लाइफ लाइन रहे पनि निर्माण व्यवसायीको लापरबाहीका कारण म्याग्दी र मुस्ताङ खण्डको काम अलपत्र परेकामा प्रदेश सरकारको ध्यानाकर्षण भएको उनले बताए । उत्तरतर्फको नाका सञ्चालनका लागि प्रदेशले सङ्घ सरकारलाई ध्यानाकर्षण गर्दै आइरहेको उनले बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार