२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

विज्ञान तथा प्रविधि सम्मेलन

प्रधानमन्त्री देउवाले भने : ' समाज परिवर्तनमा विज्ञान तथा प्रविधिले महत्व राख्दछ'

आइतवार , आषाढ १२, २०७९

 

काठमाडौँ, असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार राख्नुभयो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) द्वारा आयोजना गरिएको तीनदिने नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले समाज परिवर्तनका लागि विज्ञान तथा प्रविधि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, यस्ता कार्यक्रमबाट स्वदेशमा मात्रै नभएर विदेशमा रहेका विज्ञसँग सहकार्यका साथै सुझाव लिन पनि सहयोग पुग्नेछ । नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले विज्ञान तथा प्रविधि क्षेत्रको विकास र विस्तारमा केन्द्रित यस किसिमको सम्मेलनले समग्र देश र जनता लाभान्वित हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

नाष्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हरेक चार वर्षमा आयोजना हुने यस किसिमको सम्मेलनबाट विज्ञान प्रविधिमा आधारित नीति निर्माणमा योग्दान पुग्ने बताउनुभयो । उहाँले विज्ञान र प्रविधिको उचित विकासबिना मुलुकले विकासको फड्को मार्न नसक्ने भएकाले यस क्षेत्रमा विभिन्न काम गरिरहेका जानकारी गराउनुभयो ।

नाष्टले विज्ञानका साथै वैज्ञानिकको हितमा गैरआवासीय विज्ञान पुरस्कार स्थापना गर्नुका साथै युवा तथा महिला वैज्ञानिकका हितमा एक फोरम स्थापना गरी कार्य गरिरहेको श्रेष्ठले जानकारी गराउनुभयो ।

नाष्टका प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्रले आजदेखि तीन दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा साइन्स सिटी निर्माण साइन्स फर सोसाइटी लगायतका विषयममा छलफल एवं प्रस्तुति हुने बताउनुभयो । उक्त कार्यक्रममा मुलुकका ३५० भन्दाबढी विज्ञका साथै वैज्ञानिकको उपस्थिति रहेको नाष्टले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार