२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जगदुल्ला जलविद्युत : ' प्रदेश गौरवको आयोजना बनाउनुपर्छ

मंगलवार , फाल्गुण १०, २०७८

 

कर्णाली, फागुन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले जगदुल्ला जलविद्युत् आयोजनालाई प्रदेश गौरवको आयोजना बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न थालिएको तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको प्रगतिबारे आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा आयोजित छलफल कार्यक्रममा उहाँले आयोजनाबारे जानकारी लिँदै जगदुल्ला जलविद्युत् आयोजना कर्णालीको विकास र समृद्धिको महत्वपूर्ण आधार भएको बताउनुभयो ।

जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले प्रदेश सरकार अधिकतमरूपमा लगानी गर्ने सोचमा रहेको भन्दै प्रदेश गौरवको आयोजना बनाई त्यसमा बढीभन्दा बढी शेयर लगानी गर्न प्रदेश सरकार तयार भएको बताउनुभयो ।

उहाँले पाँच प्रतिशत मात्र प्रदेश सरकारले लगानी गर्न पाउने भन्ने कार्यविधिसमेत सच्याउन आग्रह गर्नुभयो । मुख्यमन्त्री शाही, ऊर्जा विकासमन्त्री सिंह र आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र आयोजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाबीचमा भएको छलफलमा जगदुल्ला जलविद्युत् आयोजनाको प्रगति विवरण पेश गरिएको थियो ।

छलफल कार्यक्रममा निमित्त कार्यकारी प्रमुख सापकोटाले आयोजनाको ट्रस्ट एडिट टनेलको काम शतप्रतिशत सम्पन्न भएको बताउनुभयो । आयोजनाको विद्युत् उत्पादनगृह इलमा थप भौगर्भिक अध्ययन कार्य भइरहेको बताउँदै उहाँले आयोजनाको काम निर्माण चरणमा अगाडि बढेको बताउनुभयो । कूल ४०० मिटर लम्बाइ रहेको नमूना परीक्षण सुरुङमा ४०० मिटर खन्ने काम सम्पन्न भएकोे उहाँको भनाइ थियो ।

जाजरकोट–डोल्पा (भेरी करिडोर) अन्तर्गत जोडिएको त्रिवेणीदेखि जगदुल्ला गाउँपालिका– १ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडकखण्डलाई छ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको उहाँले जनाउनुभयो । उहाँका अनुसार आयोजना निर्माणस्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण भइसकेको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कामसमेत सम्पन्न भएको छ । आयोजना निर्माणका लागि रु २० अर्ब लाग्ने अनुमान गरिएको छ ।

“आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिवेदन माघ महिनाभित्र पेश गरी चैत महिनाभित्र वातावणीय अध्ययनको अन्तिम प्रतिवेदन स्वीकृत गर्ने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो, “विद्युत् उत्पादनगृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापनका लागि दुईवटा भवन निर्माण र विद्युत् खरिद बिक्री तथा सम्झौताको कामसमेत भएको छ ।”

वित्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय भइरहेको आयोजनाले जनाएको छ । आयोजनास्थलसम्म जान र आउनका लागि इल, नील दहमा पुल आयोजना आफँैले निर्माण गर्ने भएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डको त्रिवेणीबाट–इलसम्मको ११ मिलोमिटर र बाँकी ३६ किलोमिटर सडक भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाले बोलपत्र आह्वान गरेर अघिल्लो वर्षदेखि काम गर्ने भनिए पनि ठेकेदारको ढिलासुस्तीले बल्ल काम सुरु भएको जनाइएको छ ।

वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता, ठेकेदार छनोट प्रक्रिया यो आर्थिक वर्षमा अगाडि बढाइ आगामी आवदेखि निर्माण कार्य सुरु गर्ने आयोजनाको भनाइ छ ।

अहिले मुख्य परामर्शदाता, मुख्य ठेकेदार छनोटको बोलपत्रसम्बन्धी कागजात तयारी गरिरहेको र निकट भविष्यमा बोलपत्र आह्वान गर्ने तयारीमा रहेको निमित्त कार्यकारी प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार