२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' तियान्हे ' नयाँ अन्तरिक्ष केन्द्र

चीन : "अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीकाे लागि तयारी, यही साता उडान"

मंगलवार , आषाढ १, २०७८

बेइजिङ,, असार ।। चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट यही साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ ।

चीनले पहिलो पटक तीन अन्तरिक्ष यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा पठाउँदैछ । उनीहरु तीन महिना अन्तरिक्षमा रहने छन् । उनीहरुले रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने (स्पेसवाक), निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन् ।

तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो भने गत महिना अन्तरिक्ष यात्रीका लागि आवश्यक इन्धन, खाद्यान्न र उपकरण बोकेको कार्गो रकेट पठाइएको थियो ।

लङ मार्च–२एफ वाई१२ रकेटलाई बुधबार चीनको उत्तरपश्चिम स्थित जिक्वान स्याटेलाइट लन्च सेन्टरमा पठाइएको छ । यो रकेटले सम्भवतः भाली  अन्तरिक्ष यात्रीहरुलाई अन्तरिक्षमा पठाउनेछ । चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले अर्को वर्षको अन्त्यसम्ममा ११ वटा रकेट प्रक्षेपण गर्नेछ जसले दुई वटा प्रयोगशाला मोड्युलहरु अन्तरिक्षमा पठाउनेछ ।

हाल तियान्हेको वजन करिब ७० टन छ । चीनले चार पटक अन्तरिक्ष यात्रीहरु अन्तरिक्षमा पठाउने योजना बनाएको छ । चीनले पठाउन लागेका अन्तरिक्ष यात्रीहरुमा वरिष्ट अन्तरिक्ष यात्रीहरु, नयाँ व्यक्ति र महिला पनि रहेका छन् । चीनले यसअघि ११  यात्रीलाई अन्तरिक्षमा पठाइसकेको छ जसमा सबैजसो चीनको सेनाका पाइलट छन् ।

हालसम्म संयुक्तराज्य अमेरिका र रुसले अन्तरिक्षमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र बनाएका छन् । यी केन्द्रमा अमेरिका र रुस समेत अन्य देशका अन्तरिक्ष यात्रीलाई अवसर दिइए पनि चीनलाई भने सुरक्षा खतरा भन्दै संयुक्त राज्य अमेरिकाले सहभागी गराइरहेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार