२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाल मेडिकल काउन्सिल

चिकित्सक भन्छन :  ‘प्लाज्मा थेरापी अवश्यक छैन’  

सङ्क्रमित भएर अस्पताल भर्ना भएका बिरामीलाई कन्भल्सेन्ट प्लाज्मा थेरापी सिफारिस गर्न नपर्ने

आइतवार , जेठ २, २०७८


विराटनगर, जेठ । नेपाल मेडिकल काउन्सिलले एउटा अपिल जारी गर्दै कोभिड–१९ सङ्क्रमित भएर अस्पताल भर्ना भएका बिरामीलाई कन्भल्सेन्ट प्लाज्मा थेरापी सिफारिस गर्न नपर्ने जनाएको छ  । सङक्रमित भएर उपचारका लागि अस्पताल भर्ना गरिएको बिरामीका आफन्तले प्लाज्मा थेरापीका लागि रगत सङ्कलन र रेम्डेसिभर इन्जेक्सनको खोजी सर्वत्र गरिरहेका छन् । 
खासगरी निजी अस्पतालमा भर्ना भएका सङ्क्रमितका लागि चिकित्सकले जबरजस्ती प्लाज्मा थेपारीका लागि रगत र रेम्डेसिभर इन्जेक्सन सिफारिस गरिरहेका कारण यसको खोजी सर्वत्र हुने गरेको छ । 
सामाजिक सञ्जालमा चिकित्सककै सिफारिस बमोजिम प्लाज्माको खोजी गर्नेहरूको सङ्ख्या बढ्दै जाँदा नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सार्वजनिक सूचना नै जारी ग¥यो तर त्यसपछिका दिनसमेत यसको माग र खोजी रोकिएको छैन् । 
उपचारमा संलग्न चिकित्सकले यसको आधिकारिता पुष्टि नगर्दै किन प्लाज्मा र रेम्डेसिभर इन्जेक्सनको खोजीमा बिरामीका आफन्तलाई दवाव दिइरहेका छन् ? बिरामीको हौसलालाई किन यति धेरै गिराइरहेका छन् ? आधिकारिक निकाय नै अलमलमा परिरहेको बेला सर्वसाधारण नागरिकमा कोरोना सङ्क्रमितलाई बचाउने अन्तिम विकल्प प्लाज्मा थेरापी र रेम्डेसिभर इन्जेक्सन हो, भन्ने बुझाइ जबरजस्त परिरहेको छ । 
उपचारमा संलग्न चिकित्सकसमेत प्लाज्मा थेरापी वा रेम्डेसिभर इन्जेक्सनले सङ्क्रमितको जीवन जोगाउन खासै भूमिका निर्वाह गरिरहेको ठान्दैनन् । 
कोसी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.दिपक सिग्देल यो भ्रम चिर्न नसक्नु सबैभन्दा ठूलो कमजोरी भएको स्वीकार गरे । 
नेपाल मेडिकल काउन्सिलले सूचना जारी गर्नु अगाडि नै चिकित्सकले यसलाई इन्कार गरिसकेको भएपनि जबरजस्त यसको प्रयोग बारेको धारणा जनमानसमा परिरहेको डाक्टर सिग्देलको भनाइ छ । 
“हाम्रो यूनिटले यसलाई प्रेसक्राइभ गरिरहेको छैन तर, कतिपय स्वास्थ्य संस्थाले जबरजस्ती गरिरहेका छन्”– डा. सिग्देलले भने । उनीहरूले क्रिटिकल बिरामीको जीवन प्लाज्मा थेरापी वा रेम्डेसिभर इन्जेक्सनको प्रयोगले फर्काउन नसकेको  र सङ्क्रमितको मृत्युमा प्लाज्मा थेरापी वा रेम्डेसिभर इन्जेक्सनले कुनै फरक नपारेको डा.  सिग्देलको भनाइ छ । 
जब यसको सकारात्मक परिणाम आइरहेको छैन भने कालोबजारी धन्दा चलाउने बाहेक अर्को मनसाय देखिरहेको छैन्, डाक्टर सिग्देलले भने–“एउटा रेम्डेसिभरको मूल्य २४ हजारसम्म तिरेर आफन्तले बिरामीका लागि जोहो गरिरहेका छन्, त्यहि पनि त्यो नक्कली वा सक्कली भन्ने यकिन पनि छैन ”। 
 विश्वले मान्यता नदिएको विषयलाई जबरजस्त स्थापित गर्ने शैलीमा विभिन्न सङ्घ संस्थाले समेत प्लाज्मा खोज्ने टिम बनाउनु चिन्ताको विषय भएको चिकित्सक बताउँछन् । बिरामीको एन्टीबडी कस्तो छ भनेर मापन गर्ने कुनै विधि नबनि प्लाज्मा थेरापीले फर्काउँछ भन्ने कुरा पनि यकिन नभएको डा. सिग्देलको भनाइ छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार