विराटनगर, बैशाख । मोरङ र सुनसरीमा कोरोना संक्रमणका कारण थप ६ को मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा चारजना तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होम आइसोलेसनमा एक–एकको मृत्यु भएको हो । नोबेलमा विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्धको बिहान २ बजे मृत्यु भएको छ ।
कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोबेल अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि मृत्यु भएको छ । परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि गत वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममा बिहान ४:१५ बजे मृत्यु भएको हो । यस्तै सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्ध महिलाको नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।
यसैगरी सप्तरी हनुमाननगर–कङ्कालीनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ५:४५ बजे मृत्यु भएको छ । उनको नोबेलमै उपचार भइरहेको थियो ।
कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । यस्तै मोरङको बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको भने होम आइसोलेसनमा मृत्यु भएको छ । पूर्वप्रहरी सहायक निरीक्षक (असइ) रहेका उनको बिहान ४ बजे मृत्यु भएको हो ।
नोबेल अस्पतालमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमा लगेर राखिएको थियो ।
यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका ५० वर्षीय पुरुषको मृत्यु भएको छ । सप्तकोसी-१ सप्तरीका पुरुषमा वैशाख १३ गते कोरोना पोजेटिभ देखिएको थियो ।
उनलाई सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार बिहान सवा ५ बजे मृत्यु भएको अस्पतालका सहप्रवक्ता डाक्टर चुरामणि पोखरेलले जानकारी दिए ।