काठमाडौं, बैशाख । अन्य क्षेत्रमा भन्दा हिमाली क्षेत्रमा कोरोना भाईरस(कोभिड १९) संक्रमण न्यून रहेको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म हिमाली क्षेत्रमा कोरोना संक्रमण सामान्य मात्र रहेको पाइएको हो ।
मनाङमा हालसम्म १८ मा मात्र कोरोना भाइरस (कोभिड १९) संक्रमित छन् । अन्य हिमाली जिल्ला मध्ये मुस्ताङ ४९, डोल्पा ६५, मुगु ४५ र हुम्ला ५२ ताप्लेजुङ २०८, संखुवासभा ४४२, सोलुखुम्बु २२८, दोलखा ८६७, सिन्धुपाल्चोक एक हजार २२५, रसुवा २९७ र गोरखामा एक हजार ८३४, रहेको मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।
अन्य तराईका जिल्लाहरुको तुलनामा भने हिमाली जिल्लामा संक्रमणको ग्राफ न्यून रहनुमा जनघनत्व कम हुनु, सरसफाइ र फोहोर कम हुनुनै मुख्य भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका कन्सल्टेन्ट प्यथोलोजिष्ट डा.शंकर काफ्लेले बताएका छन ।
तराई क्षेत्रमा भने हिमाली क्षेत्रको तुलनामा पाँच सय प्रतिशत भन्दा बढी संक्रमित भएको पाइएको छ । तराई क्षेत्रमा बढी गर्मी र भीड हुने गर्नाले हिमाली क्षेत्रमा भन्दा बढी संक्रमित हुने गरेको काफ्लेले बताए।
भीडसँगै स्वास्थ्य मापदण्ड पालना गर्न नसक्नु पनि संक्रमणको अर्को कारण भएको भन्दै यसमा बढी सावधान अपनाउन उनले सुझाव दिए ।
काठमाडौं उपत्यका पछि मोरङमा सबै भन्दा धेरै संक्रमित छन्, मोरङमा १४ हजार ८३९, सुनसुरी ९ हजार ७८०, चितवन ९ हजार ८००, रुपन्देही १४ हजार ३४, बाँके १० हजार ७२१ र कैलाली ७ हजार ६२४ संक्रमित छन् ।
सरकारले तीव्र गतिमा संक्रमणको दर बढेको भन्दै एक साताका लागि बैसाख १६ गते देखि निषेधज्ञा लागु गरेको छ । संक्रमणको दर कम गर्न कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सरकारसँग सिफारिस गरेको छ ।
हालसम्म नेपालमा कोरोना भाइरसबाट तीन लाख ३६ हजार ३० संक्रमित छन भने तीन हजार ३२५ को मृत्यु भई सकेको छ ।