२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बाँके : ' १४ महिने बालकसहित ३०५ ले कोरोनालाई जितेर घर फर्किए'

आइतवार , बैशाख १९, २०७८

नेपालगञ्ज, वैशाख । दोस्रो चरणको कोरोना सङ्क्रमण शुरु भएसँगै हटस्पट बनेको बाँकेमा हाल आएर सङ्क्रमित निको हुने क्रम तीव्र गतिमा देखिन थालेको छ ।

सोही क्रममा आइतबार मात्रै बाँकेमा १४ महिने बालकसहित ३०५ ले कोरोनालाई जितेर घर फर्किएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जिल्लाका संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका १४ महिने बालकसहित १४२ महिला र १६३ पुरुष गरि ३०५ आइतवार निको भएर घर फर्किएको जानकारी गराइएकाे छ ।

उनले कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएको बाँकेमा सङ्क्रमणबाट निको भएर डिस्चार्ज हुनुेहरुको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएकोले छिटै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।

फोकल पर्सन ओलीका अनुसार शनिबार २५० र शुक्रवार २४४ सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका थिए । गत केही दिनदेखि दैनिक ५ सयभन्दा बढी सङ्क्रमित थपिंदै आएको बाँकेमा शनिवार भने सो सङ्ख्या घटेर ३६० मा झरेको जनाउँदै उनले निषेधाज्ञा र अन्य विभिन्न सतर्कताका कारण सङ्क्रमित पनि घट्न थालेको बताए ।

जिल्लाका धेरै स्थानमा आइसोलेसन निर्माण भैरहेको र अस्पतालका क्षमता समेत विस्तार गर्ने कार्य पनि निरन्तर भैरहेकोले विरामी संक्रमितको उपचारको समस्या पनि क्रमशः कम हुँदै गएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार