वीरगञ्ज, बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार गरिएका २८८ को स्वाब नमुना परीक्षणमा १७५ मा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासका अनुसार, बिहीबार गरिएका २८८ को स्वाब नमुना परीक्षणको शुक्रबार बिहान आएको परीक्षण रिर्पोटमा १७५ मा संक्रमण पुष्टि भएको हो ।
नयाँ थपिएका संक्रमितमा पर्सा जिल्लाका १३१ , बाराका ३४, सर्लाहीका ५, रौतहटका ३, महोत्तरी र दाङ जिल्लाका १÷१ रहेका छन् । पर्सा जिल्लामा थपिएका १३१ मध्ये ११२ वीरगञ्ज महानगरपालिकाका वासिन्दा हुन् ।
यसअघि बुधबार राती पनि नारायणी अस्पतालको प्रयोगशालामा २४० को परीक्षण गर्दा १६९ मा संक्रंमण भेटिएको थियो । त्यस्तैगरी, मंगलबार नारायणी अस्पतालको प्रयोगशालामा २१० को स्वाब नमुना परीक्षण गर्दा १२४ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवका अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा जटिल अवस्थाका ७६ संक्रमित उपचाररत रहेका छन् । उपचाररत संक्रमितमा नारायणी अस्पतालमा ४२, नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा १५, बयोधा अस्पतालमा १४ गण्डक हस्पिटलमा ५ रहेको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिएका छन ।