नेपालगञ्ज, वैशाख १ । नयाँ भेरियन्ट कोराना भाइरसको हटस्पट बनेको बाँकेमा गत केहीदिन यता संक्रमितहरु निको हुने क्रम तिव्र गतिमा बढेको छ । ठूलो संख्यामा संक्रमित थपिने क्रम जारी रहेकै बेला दैनिक दुइ सय भन्दा बढी संक्रमितले कोरोना जितेर घर फर्किन थालेका छन् ।
सोही क्रममा बाँकेमा शुक्रवार मात्रै एकैदिन ५ वर्षिय बालक र ७१ वर्षिया बृद्धा समेत गरेर २०५ कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएर आ आफ्नो घर फर्किएका छन् ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले अनुसार उच्च मनोबलका साथ कोरोनासंग लडेका २०५ ले कोरोनालाई परास्त गरेर शुक्रवार घर फर्किएको बताए ।
उनले विहिबार पनि १०० महिला र १४४ पुरुष गरेर २४४ संक्रमित निको भएर घर फर्किएको जनाएका छन । दुई दिनमा मात्रै जिल्लामा ४४९ संक्रमित निको भएर घर फर्किएको फोकल पर्सन ओलीले जनाए ।
उनले हालसम्म जिल्लामा ९ हजार २५३ मा संक्रमण पुष्टि भएको जनाउँदै ती मध्ये शुक्रवारसम्म ५ हजार ७७१ निको भएर घर फर्किसकेको र ३ हजार ५ सय भन्दा बढी होम आइसोलेसन र विभिन्न अस्पतालमा रहेको बताए ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गत केही दिन यता गम्भीर अवस्थामा आएपछि संक्रमित अस्पतालमा पुग्ने गरेकोले मृत्यु दर पनि दिनदिनै बढ्दै गएको छ ।