बाँके, बैशाख । बाँकेमा थप पाँच कोरोना संक्रमितको मृत्यु भएको छ। तीमध्ये तीनको एक घन्टाको अन्तरालमा मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका-४ का ६० वर्षीय पुरुष र कोहलपुर नगरपालिका-११ की ४३ वर्षीया महिलाको एकै समयमा मृत्यु भएको छ।
६० वर्षीय पुरुषको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्ज र ४३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।
त्यस्तै नेपालगञ्ज-९ का ४२ वर्षीय पुरूषको १० बजे राति, बर्दियाको बढैयाताल गाउँपालिका -८ का ३२ वर्षीय पुरूषको बिहीबार बिहान साढे १ बजे भेरी अस्पतालमा मृत्यु भएको छ। त्यस्तै नेपालगञ्ज-५ का ५५ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ।
फोकल पर्सन वलीका अनुसार, उनको मृत्यु बिहीबार बिहान साढे ५ बजेतिर भएको थियो। योसहित बाँके जिल्लाका मात्रै १०६ र बाँके जिल्ला बाहिरका थप १०९ कोरोना संक्रमितको हालसम्म मृत्यु भएको फोकल पर्सन वलीले बताए।
संक्रमितले जन्माइन् बच्चा सुर्खेतकी एक कोरोना संक्रमित महिलाले बिहीबार बिहान शिशुलाई जन्म दिएकी छन्। भेरीगंगा-११ सुर्खेतकी २२ वर्षीया महिलाले बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा बिहान साढे ७ बजे छोरालाई जन्म दिएकी हुन्।
बाँकेका कोरोना फोकल पर्सन तेजी वलीले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए।