२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

भेरी अस्पताल : 'विशेषज्ञ चिकित्सक सहित ८० स्वास्थ्यकर्मी थपिने'

सोमवार , बैशाख १३, २०७८

नेपालगञ्ज, वैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित विरामीको संख्या बढ्दै जाँदा जनशक्तिको चरम अभाव भएकोले विशेषज्ञ चिकित्सकसहित ८० जना स्वास्थ्यकर्मी थप्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ ।

भेरी अस्पतालमा विरामीको चाप अत्याधिक भएपनि चिकित्सक र स्वास्थ्यकर्मीको संख्या निकै कम भएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालले माग गरे बमोजिम ८० जना जनशक्ति थप्ने निर्णय गरेर सोमवार पठाएको अस्पताल विकास समितिले जनाएको छ ।

अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपालका तीन वटा प्रदेशका कोरोना संक्रमित विरामीहरुको उपचार गर्दै आएको भेरी अस्पतालमा उपचार सहज बनाउन मन्त्रालयले तीन महिनाका लागि विशेषज्ञ चिकित्सकसहित ८० जना स्वास्थ्यकर्मी थप्ने अख्तियारीको पत्र सोमवार पठाएको बताएका छन ।

मन्त्रालयले पठाएको पत्रमा अस्पतालबाट तीन महिनाका लागि करार सेवामा जनशक्ति व्यवस्थापन गर्ने माग आएकोले तीन महिनाका लागि १०  मेडिकल अफिसर, २  नर्सिंग अधिकृत, ३ जना एनेस्थेसियोलोजिस्ट, ५ जना ल्याब टेक्निसियन, ४० जना स्टाफ नर्स र २० जना सरसफाईकर्मी गरेर ८० जना थप्ने अख्तियारीको निर्णय गरेर पठाएको जनाईएको छ ।

अब तत्काल सूचना निकालेर ८० जनाको पदपुर्ति गरिने जनाउँदै समितिका सदस्य श्रेष्ठले यो जनशक्तिले संक्रमितको उपचारमा धेरै सहज हुने बताए ।

यसअघि बाँकेका अस्पतालमा जनशक्ति र बेडको अभावले सयौं संक्रमितको उपचारमा समस्या आएको भनि स्वास्थ्य मन्त्रालयमा जानकारी गराएपछि सो मन्त्रालयले प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठ र प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.रोसन न्यौपानेको टोलीलाई अवस्था बुझ्न नेपालगञ्ज पठाएको थियो ।

मन्त्रालयको सो टोलीले यहाँ पुगेर अस्पतालको भ्रमण गर्नुका साथै चिकित्सक, अस्पताल विकास समिती र स्थानीय सरोकारवालाहरुलाई भेटेर अवस्था बारे जानकारी लिई तत्काल जनशक्ति चाहिने सिफारिस गरेको थियो । सो टोलीले गरेको सिफारिसका आधारमा तत्काल जनशक्ति र बेड थप्ने निर्णय भएको समितिका सदस्य श्रेष्ठले बताए ।

मन्त्रालयको सो टोलीले संक्रमण एक्कासी फैलनुका कारण र संक्रमण नियन्त्रणका लागि गरिएका उपायहरुको पनि समिक्षा गरेको अस्पतालले जनाएको छ । तत्काल जनशक्ति र शैया थपेर उपचार शुरु गर्ने हो भने कोरोनाका विरामीको उपचारमा धेरै सहजता आउने अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार