नेपालगञ्ज, बैशाख । बैशाख महिनाको शुरुवातबाटै कोराना हटस्पट बनेको बाँकेमा संक्रमित निको हुने क्रम पनि बढेको छ । संक्रमित थपिने र मृत्यु हुने क्रम जारी रहेकै बेला ठूलो संख्यामा संक्रमितले कोरोना जितेर घर फर्किन थालेका छन् ।
सोही क्रममा बाँकेमा सोमबार मात्रै एकैदिन सात वर्षीया बालिका देखि ७३ वर्षीया बृद्धा समेत गरेर १२५ कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएर आ आफ्नो घर फर्किएका छन् ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार उच्च मनोबलका साथ कोरोनासंग लडेका १२५ ले कोरोनालाई परास्त गरेर घर फर्किएका छन् । यो संगै बैशाख १ गतेदेखि सोमवारसम्म मात्रै बाँकेमा ४२६ ले कोरोनालाई परास्त गरेर घर फर्किएको फोकल पर्सन ओलीले बताएका छन ।
बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र तथा अस्पताल भरिभराउ भएका थिए । तर, सोमवार मात्रै १२५ लाई संक्रमणमुक्त बनाई घर पठाउन पाउँदा निकै खुशी लागेको ओलीले बताए ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार आईतबारसम्म बाँकेमा ५४ हजार ५७१ को कोरोना परिक्षण गरिएकोमा सात हजार ४९७ मा संक्रमण देखिएको छ ।
जसमध्ये सोमबार बिहानसम्म पाँच हजार १२८ कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । निको हुने क्रम पनि अब दिनदिनै बढ्दै जाने जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।