इनरुवा, वैशाख । सुनसरीको धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड–१९ अस्पतालमा उपचारका लागि भर्ना हुनेहरूको सङ्ख्या बढेको छ ।
एक महिना अघि शून्य झँै रहेको विरामी भर्ना एकसाता यता बढेको हो । नेपाल भारत सीमाको विहारसहित विभिन्न प्रान्तमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै सुनसरीमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या दिनदिनै बढेकाले भर्ना दर पनि बढेको हो ।
सङ्क्रमितको सङ्ख्या बढेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका लागि भर्ना हुनेहरूको सङ्ख्या एकसाता यता उल्लेख्यरूपमा वृद्धि भएको अस्पतालले जनाएको छ ।
यसअघि करिब तीन महिना जति सुनसान जस्तै रहेको प्रतिष्ठानको कोभिड अस्पतालमा पछिल्लो समयमा १५ भर्ना भएका छन् । तीमध्ये दुई आइसियुमा र दुई हाईडिपेण्डेन्सी युनिटमा भर्ना भएका छन् ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार शनिबारमात्र पाँचजना नयाँ सङ्क्रमित भर्ना भएका छन् ।
थपिएका नयाँ सङ्क्रमितमा कोरोनाको कुन भेरियण्ट हो भन्ने अहिलेसम्म जानकारीमा आएको छैन । कोरोनाको नयाँ भेरियण्ट तीव्र सङ्क्रमण गर्ने खालको भएको वैज्ञानिकले बताउँदै आएका छन् । प्रतिष्ठानमा १५ आइसियु, २५ हाईडिपेण्डेन्सी युनिट (एचडियु) र ६० जनरल बेड रहेका छन् ।
ती बेडमा प्रतिष्ठानले अक्सिजन आपूर्तिका लागि अक्सिजन प्लाण्टबाटै जोडिएको अक्सिजन पाइपलाइन जोडेको डा. पोखरेलले बताउनुभयो ।
यता स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा बढी इटहरी उपमहानगरपालिकामा २० , धरान उपमहानगरमा १५ र इनरुवा नगरपालिकामा ५ कोरोना सङ्क्रमित थपिएको छ ।