काठमाडौँ, वैशाख । पछिल्लो २४ घण्टामा नेपालमा ५८० मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५८० मा संक्रमण देखिएको जनाए ।
उनका अनुसार सोही अवधिमा एन्टिजेन विधिबाट गरिएको ४५१ परीक्षणमा २३ संक्रमित देखिएका छन् । पीसीआर र एन्टिजेनबाट गरिएको परीक्षणबाट २४ घण्टामा ६ सय ३ मा संक्रमण पुष्टि भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५६ पुगेको छ । संक्रमितमध्ये २५४ काठमाडौं उपत्यकाका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौंका १७३, ललितपुरका ६१ र भक्तपुरका २० मा संक्रमण दिएको हो । २४ घण्टामा १२९ डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा रहनेको संख्या भने ७९ रहेको छ ।