२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

स्वास्थ्य मन्त्रालयले भन्याे : " लक्षण नभएका सङ्क्रमित १० दिन आइसोलेसनमा "

मंगलवार , चैत्र १७, २०७७

काठमाडौँ, चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा दैनिक रूपमा ६५ हजारभन्दा धेरैको सङ्ख्यामा कोरोना सङ्क्रमण फैलिएपछि नेपालमा पनि लक्षण भएकालाई अस्पताल र नभएका सङ्क्रमितलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्नुपर्ने स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइले सातवटै मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई लक्षण भएकालाई अस्पताल र नभएकालाई अनिवार्य १० दिन क्वारेन्टाइनमा राख्न सिफारिस गरेको हो ।

एकाइका प्रमुख डा. गुणराज लोहनीले अस्पताल र आइसोलेसन सेन्टरमा राखेबापत प्रतिदिन प्रतिबिरामी दुई हजार रुपियाँ सोधभर्ना स्वास्थ्य मन्त्रालयबाट लिन सकिने जानकारी गराए ।

यसैबीच नेपालमा सोमबार थप १४१  व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँंगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ९८० पुगेको छ ।

यस्तै आइतबार थप ८२ सङ्क्रमित निको भएका छन् । योसँंगै नेपालमा निको हुने सङ्ख्या दुई लाख ७२ हजार ६१२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३४१ रहेको छ भने क्वारेन्टाइनमा ५६  छन् ।

देशभरका विभिन्न प्रयोगशालामा तीन हजार १२२ जनाको पीसीआर परीक्षण गरिएको छ । विगत चौबिस घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार २७ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार