काठमाडौं, माघ । पहिलो चरणको कोभिड खोप कार्यक्रम शनिबार सम्पन्न भएको छ । १० दिनसम्म चलेको पहिलो चरणको खोप अभियानका क्रममा करिब एक लाख ८७ हजारले खोप लगाएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
तीमध्ये कसैमा पनि कुनै प्रकारको समस्या नदेखिएको कोभिड खोप विज्ञ सल्लाहकार समितिकाे भनाइ छ । समितिका संयोजक डा. श्यामराज उप्रेतीले पहिलो चरणको खोप कार्यक्रम पूर्ण रुपमा सफल भएको सञ्चारकमीर्लाइ बताए ।
उनले भने, कोभिड खोप पूर्ण रुपमा सुरक्षित छ, लगाउन नडराउ । पहिलो चरणको सफल खोप कार्यक्रमबाट उत्साहित रहेको बताउँदै उनले अाजदेखि दोस्रो चरणको खोप कार्यक्रम सुरु गर्ने जानकारी दिएका छन।
उनका अनुसार, दोस्रो चरणको खोप एक हप्तामा सकिनेछ जसमा तीन लाख जनालाई खोप दिइने लक्ष्य छ । दोस्रो चरणमा बढि मानिसको भीडमा काम गर्ने र धेरै मानिसको सम्पर्कमा आउने पेशागत क्षेत्रका व्यक्तिहरु जस्तै पत्रकार, बैंकका कर्मचारी, मालपोत कार्यालयका कर्मचारीगायतलाई खोप प्रदान गरिँदैछ ।