काठमाडौं, माघ । नेपालमा कोरोना भाइरसका २६६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५०८ को आरटीपीसीआर परीक्षण गरिएकोमा २६६ मा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चारसय सङ्क्रमित निको भएको उल्लेख गरेको छ ।
हालसम्म दुई लाख ६१ हजार ४४४ सङ्क्रमित निको भइसकेका छन् । हाल तीनहजार ९१९ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ३२२ सङ्क्रमित भएका छन् ।
पछिल्लो चौबीस घण्टामा पाँच सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९५९ सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ९१९ आइसोलेशनमा र २२१ क्वारेन्टिनमा छन् ।
उपत्यकामा १७७ संक्रमित थपिए काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा १७७ संक्रमित थपिएका छन् । उपत्यकाको भक्तपुरमा नौ, ललितपुरमा २३ र काठमाडौं जिल्लामा १४५ छन् ।