२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मनकामना केबुलकार मंसिर २८ देखि सञ्चालनमा आउने

बिहिवार , मंसिर २५, २०७७

काठमाडौं, मंसिर ।  कोरोनाको महामारीसँगै नौ महिनादेखि बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो मंसिर २८ गते आइतबार देखि पुनः सञ्चालनमा आउने भएको छ । 

मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तह सहितको सरोकारवालाको बैठकले आगामी आइतबारबाट मन्दिर र केवलकार खोल्ने निर्णय गरेको हो । 

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गरेर मात्रै मन्दिरमा पूजा गर्न पाइने र केवलकार चढ्न पाइने व्यवस्था गरिएको समितिले जनाएको  छ। 

केबुलकार चढ्नुअघि प्रत्येक यात्रुको ज्वरो मापन गरिने छ । सय फरेनहाइट भन्दा माथि ज्वरो भएका र रुघाखोकीको लक्षण देखिएका यात्रुहरुलाई प्रवेश नदिइने कम्पनीले जनाएको छ । 

केबुलकार प्रवेश गर्दा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने, हात सेनिटाईज गर्नु पर्ने नियम बनाइएको छ ।  यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दूरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध भई बस्नु पर्नेछ ।

केबुलकार हाता भित्र प्रवेश गर्दा स्वचालित हेण्ड सेनिटाइजर वा साबुन पानीले हात धुनु पर्नेछ । स्टेशन हाता भित्र भिडभाड नगर्ने तथा पिकनिक र बनभोजलाई अस्थाई रुपमा बन्द गरिएको समितिले जनाएको छ  । 

यस्तै बली दिने प्रयोजनको लागि पशुपन्छी ढुवानी गर्ने सेवा अस्थाई रुपमा बन्द गरिएको छ । केबुलकार बिहान ९ बजे देखि सांझ ५ बजेसम्म मात्र सञ्चालनमा आउने छ । 

त्यसैगरी, केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी पुस ३ गते शुक्रबारदेखि सञ्चालनमा आउने पनि जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार