काठमाडौं, पुस । सरकारले आगामी वैशाखदेखि रोटा भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
गत आर्थिक वर्षमै सुरु हुने भनेको उक्त खोप उत्पादन कम्पनीले उपलब्ध गराउन नसक्दा एक वर्ष ढिला भएको तर आगामी वैशाखबाट भने सञ्चालनमा ल्याउने तयारी भएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको,बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ ।
सरकारले नियमित रूपमा ११ वटा खोप निःशुल्क दिँदै आएकोमा आगामी बैशाखदेखि रोटा भाइरसविरुद्धको खोप थप्न लागेको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको, बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए ।
“हाल नेपालमा पाँच वर्षमुनिका बालबालिकामध्ये करिब ५० प्रतिशतलाई झाडापखाला हुने गरेको र जसमध्ये करिब ३० प्रतिशतमा रोटा भाइरसको संक्रमणका कारण हुने गरेको देखिन्छ,” उनले भने, “सरकारले उक्त खोप (ग्लोबल एलाइन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) गाभीको सहयोगमा खरिद गर्न लागेको थियो । यो खोप सरकारले बालबालिकालाई निःशुल्क लगाउने तयारी रहेको छ ।”
पाँच वर्षमुनिका बालबालिकालाई झाडापखालाविरुद्ध दिइने सो भ्याक्सिन नेपालमा पहिलो पटक सञ्चालनमा ल्याउन लागिएको हो । सो खोप शिशुलाई जन्मेको ६ हप्ता र १० हप्तामा दिइने गरिन्छ ।
बालरोग विशेषज्ञहरुका अनुसार यो खोप लगाएमा पाँच वर्ष मुनिका बालबालिकामा हुने झाडापखालाको दरलाई घटाउन सकिने बताउँछन् । सरकारले निशुल्क ११ खोपमा क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्यूएञ्जा बी, पोलियो, दादुरा-रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिस) विरुद्ध को खोप तथा गर्भवती महिलाहरुका लागि टीडी दिँदै आएको खोप अधिकृत भरत भण्डारीले बताए ।
विश्व स्वास्थ्य संगठनले बालबालिकाको लागि २४ खोपलाई सुचिकृत गरे पनि नेपालमा एघार खोप मात्र हालसम्म सञ्चालनमा छन् । संगठनको सन् २०१३ को तथ्यांक अनुसार विश्वमा दुई लाख १५ हजार पाँच वर्ष मुनिका बालबालिकाहरुको रोटा भाइरसका कारण मृत्यु गरेको जनाएको थियो ।
विकसित देशहरुमा पनि रोटा भाइरसको संक्रमण देखिने गरेको छ । तर, ती देशका बालबालिकामा सामान्य समस्या देखिने बित्तिकै तुरुन्त अस्पताल लैजाने गरिएको छ । तर,अविकसित देशका बालबालिकालाई सामान्य समस्या हुँदा घरमै उपचार गर्ने गरिएकाले बढि प्रभावित हुने गरेको संगठनको तथ्यांकमा उल्लेख छ ।