काठमाडौँ, असाेज । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा थप ६४७ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ संक्रमित देखिएको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
२४ घन्टामा ११ हजार १५४ पीसीआर परीक्षण गरिएको छ । २४ घन्टाको अवधिमा सोमबार ६७४ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।
पछिल्लो २४ घन्टमा देशभर १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म ६६ हजार ६३२ संक्रमितको संख्या पुगेको छ ।
त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८२३ रहेको छ । हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ महिला र १ पुरुषको मृत्यु भएको बताए । उनका अनुसार मृतकमा काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोकका ५० वर्षीया महिला रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।
मन्त्रालयका अनुसार, हालसम्म पीसीआर विधिबाट ९ लाख ४९ हजार ७७ परीक्षणहरु गरिएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १७१ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १८ हजार १४२ जना रहेको छ ।