चितवन, असाेज । चितवनमा कोरोना संक्रमणबाट हालसम्म १७ को मृत्यु भएको छ भने १५ सय १४ जना संक्रमित बनेका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार १५ को विभिन्न अस्पतालमा उपचारका क्रममा र २ को घरमै मृत्यु भएको हो । सबैभन्दा वढी भरतपुर महानगरपालिकामा १० को मृत्यु भएको छ ।
त्यसमा पनि ६ वडा नम्बर ११ कै छन् । यस्तै कोरोना संक्रमणबाट रत्ननगरमा ३, खैरहनी र राप्ती नगरपालिकामा कोरोनाबाट २/२ को मृत्यु भएको कार्यालयले जनाएको छ । यस्तै चितवनका विभिन्न अस्पतालमा उपचारका क्रममा अरु जिल्लाका १४ को मृत्यु भएको छ ।
जिल्लामा संक्रमितमध्ये ६१९ महिला र ८९५ पुरुष छन् । संक्रमितमध्ये धेरै भरतपुर महानगरका ९९२ मा छन् । यस्तै रत्ननगरमा नगरपालिकामा १८८ मा कोरोना देखिएको छ ।
राप्तीमा नगरपालिकामा १२३, खैरहनी नगरपालिकामा ६९, माडी नगरपालिकामा ५५, कालिका नगरपालिकामा ५५ र इच्छाकामना गाउँपालिकामा १३ मा कोरोना देखिएको छ । चितवनमा अहिले एक हजार सात सक्रिय संक्रमित छन् ।
अहिलेसम्म ४९० जना डिस्चार्ज भएर घर गएका छन् । होम आइसोलेसनमा ५८६ छन् । भरतपुर अस्पतालले संञ्चालन गरेको कोभिड १९ प्रयोगशालामा हालसम्म करीव २५ हजार नमूना परीक्षण गरिएको छ, जसमध्ये २१ हजार चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका हुन् ।
भरतपुर अस्पतालमा अहिले ५७ कोरोना संक्रमितको उपचार भइरहेको छ, जसमध्ये ७ आईसीयूमा छन् । पुरानो मेडिकल कलेज भरतपुरमा २४ कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका निर्देशक डा. मनोहर प्रधानले जानकारी दिए । दुई आइसियूमा छन् ।
चितवन मेडिकल कलेज भरतपुरमा २२४ कोरोना संक्रमितले उपचार गराएका छन् । अहिले आइसियूमा ३८ र भेन्टिलेटरमा ५ संक्रमितले उपचार गराइरहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
पछिल्लो समयमा संक्रमणको दर बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यलयमा प्रमुख दीपकबाबु तिवारीले निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणको अनुपात बढ्दै जानसक्ने बताए ।