पोखरा, भदौ । गण्डकी प्रदेशमा बुधबार विहानै २३ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा लमजुङका २० जना छन् भने कास्कीका दुईजना र नवलपरासी पूर्वका एकजना छन् ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १९३६ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङमा कार्यरत १७ जना नेपाली सेनामा संक्रमण देखिएको हो ।
त्यसैगरी बेशीसहर-७ का ५१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ भने बेशीसहर-८ का २५ र ३२ वर्षीय दुईजना पुरुषमा संक्रमण देखिएको छ । उनीहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
कास्कीको पोखरा महानगरपालिका-११ का ४६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । उनी साई अर्चना अस्पतालमा कार्यरत व्यक्ति भएको बताइएको छ । यस्तै मादी गाउँपालिका-७ का ३९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
नवलपरासी पूर्वको गैंडाकोट-१ की ४० वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ । यसैबीच प्रदेशभर निको हुनेको संख्या १६४३ पुग्दा ८ जनाको हालसम्म ज्यान गएको छ । सक्रिय संक्रमितको संख्या २९० रहेको छ ।