काठमाडौँ, मङ्सिर । हालै सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा कीर्तिमानी चारवटा स्वर्ण पदक जितेकी नेपाली पौडी खेलाडी गौरिका सिंहले समग्र खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको उत्प्रेरणाप्रति आभार व्यक्त गरेकी छन् ।
गौरिकाले सामाजिक सञ्जाल मार्फत उत्प्रेरक सम्बोधन र खेलाडीलाई उत्साह प्रदान गर्ने सम्मान प्याकेजका लागि प्रधानमन्त्री ओलीलाई धन्यबाद दिएकी हुन् । यसले आफूहरुलाई भविष्यमा अझ धेरै पदक जित्न उर्जा प्रदान गरेको उनले उल्लेख गरेकी छन् ।
यस्तै गौरिकाले स्वर्ण पदक विजेता आयशा शाक्यसँग भेट्न पाउनु पनि आफ्ना लागि गर्वको कुरा रहेको उल्लेख गरेकी छन् । दुई सन्तानको आमा भएर पनि नेपालका लागि दुई स्वर्ण पदक जित्ने आयशा शाक्यसँग भेट्नु आफ्ना लागि उत्साहको कुरा रहेको गौरिकाले उल्लेख गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा पदक जित्ने खेलाडीहरुलाई बुधबार बालुवाटार निवासमा बोलाएर सम्बोधन गरेका थिए र पदक विजेताहरुको सम्मानका लागि आर्थिक प्याकेजको घोषणा समेत गरेका थिए ।