काठमाडौं, असार । कोभिड–१९ बाट संक्रमितको संख्या १५ हजार ४९१ जना पुगेको छ । शनिबार थप २३२ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने ३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २३ वटा प्रयोगशालामा चार हजार ५० जनाको आरटिपिसिआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिए ।
क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या ३३ हजार १२५ रहेको छ । त्यसैगरी आइसोलेशनमा रहेकाको संख्या नौ हजार ४२ छ । हालसम्म डिस्चार्ज हुनेको संख्या छ हजार ४१५ रहेको छ ।
मन्त्रालयको दुईवटा कल सेन्टरबाट ८३२ वटा कल प्राप्त भएको छ भने हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको संख्या एक लाख ५६ हजार २०१ छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८७ हजार ५५० छन् ।
सार्क देशहरुमध्ये कोरोना परीक्षण दर प्रति दश लाख जनसंख्यामा नेपाल अफगानिस्तान, पाकिस्तान, भारत, श्रीलङ्का र बङ्गलादेश अगाडि रहेको छ ।