काठमाडौं, असार । बैतडीका एक पुरुषको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृगौलाको डायलासिस गराउन गएका बेला मृत्यु भएको छ।
मृत्यु हुनेमा मेलौली नगरपालिका वडा नम्वर ३ का ४७ बर्षीय पुरुष रहेका छन्। डायलासिस गराउनका चिकित्सकहरुले सुझाव दिएका भएपनि कोरोना परीक्षण नहुँदा सम्म डायलासिस गर्न नमिल्ने भनिएको मृतकका पारिवारिक स्रोतले बताएका छन्।
तीन दिनसम्म कोरोना परीक्षण नै नहुँदा मंगलवार राति ती पुरुषको मृत्यु भएको हो। सेती प्रादेशिक अस्पतालका अनुसार मंगलवार साँझ भने कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।
सेती अस्पतालमा डायलासिस वार्ड सञ्चालन गर्दै आएको बहिरङ्ग हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले डायलासिस गराउन पर्ने जानकारी मंगलवार मात्रै आएको बताए। भारतबाट आएका व्यक्तिसँग पनि सम्पर्क भएको देखिएकाले पीसीआर जाँच गराउन भनेका उनले बताए।
मृतकको कोरोना परीक्षण गरिदैँछ। रिपोर्ट आउन बाँकी छ।