काठमाडौं, बैशाख । विगत २४ घण्टामा १,९४५ जनामा कोरोनाभाइरस परीक्षण गरिएको तर शुक्रवार साँझपछि कसैमा पनि कोभिड-१९ पुष्टि नभएको जानकारी स्वास्थ्य मन्त्रालयले शनिवार अपराह्ण दिएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ४९ छ। तीमध्ये १२ जना रोगमुक्त भएका छन्।
नियमित प्रेस ब्रीफिङमा बोल्दै उनले बागलुङमा भर्ना भएकी १९ वर्षीया किशोरी भाइरसमुक्त भएको प्रमाणित भएपछि शुक्रवार घर फिर्ता भएको जानकारी दिए।
चितवनमा भएका २७ वर्षीय सङ्क्रमित पुरुष पनि पीसीआर परीक्षणमा दुई चोटि भाइरसमुक्त भएकाले अस्पतालबाट घर फिर्ता हुने क्रममा छन्। उनका अनुसार अहिले विभिन्न स्थानमा भएका ३७ बिरामीको स्वास्थ्य सामान्य छ।
अहिलेसम्म पीसीआर विधिबाट ९,६६६ वटा र आरडीटी विधिबाट झन्डै ४०,००० परीक्षण गरिएको विवरण मन्त्रालयले दिएको छ।
को कहाँ छन्?
देशभरि १४,७३१ जना क्वारन्टीनमा रहेकोमा प्रदेश नं ५ मा भएका व्यक्तिको सङ्ख्या सर्वाधिक भएको जानकारी डा. देवकोटाले दिए। उनका अनुसार त्यहाँ ७,९५६ मानिस क्वारन्टीनमा छन्। सबैभन्दा कम वाग्मती प्रदेशमा १३१ जना छन्।
तस्वीर : RSS भोजपुरमा क्वारन्टीनमा बसेका मानिसहरूमन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यकामा तीनसहित देशभरि ८७ जनालाई आईसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै राखिएको छ भने लक्षण र अन्य विवरणका आधारमा २९० जना 'रेड जोन' मा परेका छन्।
क्वारन्टीनमा भएका केही व्यक्तिमा औलो रोग देखिएको भन्दै डा. देवकोटाले सबैलाई सतर्क हुन आग्रह गरे। प्रदेश नं ५ मा सर्वाधिक व्यक्ति क्वारन्टीनमा भए पनि अहिलेसम्म कसैमा सङ्क्रमण पुष्टि भएको छैन।
कुन प्रदेशमा कति सङ्क्रमण?
अहिले कोशी अञ्चल अस्पतालमा ३० जना सङ्क्रमित छन्। उनीहरूमध्ये अधिकांश उदयपुरका हुन्। झापा र भोजपुरका सङ्क्रमित व्यक्ति पनि त्यहीँ छन्।
- प्रदेश नं १ - ३० जना
- प्रदेश नं २ - ५ जना
- वाग्मती प्रदेश - ७ जना (६ जना निको)
- गण्डकी प्रदेश - २ जना (१ जना निको)
- प्रदेश नं ५ - ०
- कर्णाली प्रदेश - ०
- सुदूरपश्चिम प्रदेश: ५ जना ( ३ जना निको)
अहिले सबै प्रदेशमा गरेर कुल १५ वटा प्रयोगशालमा पीसीआर विधिबाट कोरोनाभाइरस परीक्षण हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।