काठमाडौं, पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय लम्बिनसक्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले क्रियाशील सदस्यका विषयमा भएको ढिलाइले महाधिवेशन केहि लम्बिन सक्ने देखिएको बताएका हुन्।
नयाँ क्रियाशील सदस्य वितरणका क्रममा देशभर सिरियल नम्बर नै नभएको कागजात पठाएपछि आफू चनाखो भएको उनले बताए। कोइरालाले महाधिवेशन केहि लम्बिएपछि त्यसले खासै फरक नपर्ने धारणा राखे।
उनले विशेष अधिवेशनको माग गर्ने र चुनावपछि महाधिवेशन गर्नुपर्छ भन्ने समूहले आफूलाई खेलाउन खोजेको महशुस भएपछि चुनावअघि नियमित महाधिवेशन हुनुपर्छ भन्नेमा आफूले मागमा अडिक भएको बताए।
शान्ति सुरक्षाको पूर्ण रुपमा प्रत्याभूति नभएसम्म हुन नसक्ने भन्दै उनले चुनावको नाममा धाँधली गरेर कसैलाई जित्न नदिने उल्लेख गरे। उनले देश यहि अवस्थामा रहन्छ वा रहदैन भन्नेमा चिन्ता गर्नुपर्ने अवस्था देखिएको बताए।
कोइरालाले आगामी दिनमा नेपालमा फेरि अर्को दुर्घटना हुन सक्ने भन्दै त्यसलाई रोक्न सवै गम्भीर हुनुपर्नेमा जोड दिए। जेनजीको आन्दोलनका क्रममा भाद्र २४ गतेको घटना नेपालको राष्ट्रियता कमजोर भएर घटेको हिंसा भएको उनको भनाइ छ।